प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साधन श्रोतका अभावकाबीच पनि नेपाल प्रहरीको काँधमा जनताको शान्ति सुरक्षाको जिम्मेवारी रहेको बताएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई भवन, साधन र कानुनको खाँचो रहेको बताए।
झन्डै आधा युनिटमा भवन नहुँदा, साधन नहुँदा र कानुन नहुँदा पनि नेपाल प्रहरीले जनताप्रतिको जिम्मेवारी बहन गरिरहेको बताए।
बेलायत सरकारको सहयोगमा एसजेपी अन्तर्गत युएनओपीएसद्वारा निर्मित भवनबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरे।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संविधानले सुनिश्चित गरेका महिला बालबालिका र ज्येष्ठ नागरिकको सेवाको लागि बेलायत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए। उनले मोतीपुर औद्योगिक क्षेत्र भित्र वडा प्रहरी कार्यालय आवश्यक रहेको बताए। पाण्डेले बुटवललाई लागुऔषधबाट सुरक्षित बनाउन पनि प्रहरीसँग आग्रह गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भूपेन्द्र खत्री, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपाने, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पौडेल लगायतले बोल्दै नवनिर्मित भवनबाट प्रदान हुने सेवाले महिला र बालबालिकाको पहुँच बढाउने बताए।
महिला र बालबालिकाहरूको सुरक्षा र न्यायमा पहुँच वृद्धिका लागि युएनओपीएसले नेपाल प्रहरीका लागि हालसम्म ४२ वटा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ।
त्यस्तै १० वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन्। यस कार्यालयबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण र दुव्र्यवहारका घटनाहरूको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितलाई उद्धार तथा कानुनी सहयोग प्रदान गर्ने उदेश्य रहेको छ।
इलाका प्रहरी कार्यालय परिसरमा २८७ दशमलव २५ वर्ग मिटर क्षेत्रफलमा उक्त भवन निर्माण गरिएको हो। कुल २ करोड ४१ लाख ४३ हजार ७५३ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा ११ वटा कोठा रहेका छन्। भवनभित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, सामान्य केस दर्ता, परामर्श कक्ष, बैठक र सम्मेलन कक्ष लगायत रहेका छन्।
दुईतले उक्त भवनमा अपांगतामैत्री शौचालय निर्माण गरिएको छ भने सौर्य ऊर्जा प्रणाली, सुरक्षाको लागि तरबार र फर्निचर तथा उपकरणहरूको समेत व्यवस्था गरिएको छ। निर्माण व्यवसायी रोयल कन्स्ट्रक्सन धनगढीले २०८१ साल साउन १० गते ठेक्का सम्झौता गरी भवन निर्माण गरेको हो।