सल्यानको कपुरकोट गाउँपालिका–४ लामिडाँडामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ११:२० बजे किमुचौरबाट मूलपानीतर्फ जाँदै गरेको (अस्थायी) म.प्र. ०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
अटो चालक कपुरकोट–४ किमुचौरका ३८ वर्षीय टिकाराम रानाले चलाएका थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक युवराज बस्नेतको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा चालकसहित घाइते पाँच जनाको उद्धार गरी आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा चालक टिकाराम रानासहित कपुरकोट–४ किमुचौरका ७२ वर्षीय दिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने अन्दाजी ५२ वर्षीय सफी अहमद रहेका छन्। घाइतेमध्ये सुनार र अहमदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्यको अवस्था मध्यम रहेको छ।
प्रहरीका अनुसार चालक राना, दिलबहादुर सुनार, सागर एरी र सफी अहमदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।