इरानको शाहिद ड्रोनको प्रविधि चोरेर अमेरिकाले बनाएको ड्रोनले अहिले इरानमाथि नै प्रहार गरिरहेको छ।
युद्धको सुरू दिनदेखि नै प्रयोग गरिरहेको लुकास ड्रोन यो युद्धमा अमेरिकाले प्रयोग गरेको सबैभन्दा सफल हतियारमध्ये पर्छ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार लुकास ड्रोन इरानी शाहिद ड्रोनको सिको गरेर बनाइएको हो। लुकास ड्रोनको प्रयोग गरेर अमेरिकाले इरानका धेरै सैन्य लक्ष्यलाई ध्वस्त पार्दै आएको छ।
अमेरिकाले शाहिद ड्रोनलाई ‘रिभर्स इन्जिनियरिङ’ गरेर लुकास बनाएको जर्नलले जनाएको छ।
कुनै पनि तयारी वस्तु वा मेसिनलाई खोलेर टुक्रा-टुक्रा पारेर वा त्यसको बनोटको गहिरो अध्ययन गरेर, त्यसले कसरी काम गर्छ र कसरी बनेको छ भन्ने कुरा पत्ता लगाउने प्रक्रियालाई रिभर्स इन्जिनियरिङ भनिन्छ।
युक्रेनसँगको युद्धमा सहयोग गर्न इरानले रूसलाई शाहिद ड्रोन दिएको थियो।
अहिले रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ। युद्धमा रूसले प्रयोग गरेको ती ड्रोनको सफलता देखेर अमेरिकाले पनि त्यस्तै ड्रोन बनाएको हो।
सैन्य ड्रोन प्रविधिमा अमेरिका अग्रिणी स्थानमा रहँदै आएको छ। तर अमेरिकाले बनाउने रिपर र ग्लोबल हक जस्ता ड्रोन धेरै महँगा छन्।
करोडौं डलर पर्ने ती अमेरिकी ड्रोनको तुलनामा इरानी शाहिदको लागत मूल्य लगभग ५० हजार डलर जति छ।
सस्ता इरानी ड्रोनको युक्रेनमा सफलतापूर्वक प्रयोग भएको देखेर अमेरिकाले पनि सीमित महंगा ड्रोन मात्रै नभएर ठूलो संख्यामा सस्ता ड्रोन बनाउन थालेको हो।
चीनसँग युद्ध भएमा युक्रेन युद्धमा जस्तै ड्रोनको महत्वपूर्ण भूमिका हुने ठानेर अमेरिकाले सस्ता ड्रोनमा लगानी गरेको हो। शाहिद ड्रोनको प्रविधि चोरेर बनाइएको लुकासलाई अमेरिकाले इरानसँगको युद्धमा सफलतापूर्वक प्रयोग गरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)