सुर्खेतको वीरेन्द्रनगरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीबाट रकम लिई बिचौलियाको काम गरिरहेको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार करिब बिहान ११:३० बजे यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा भू–सेवाका काम गरिदिने भन्दै रकम लिई बिचौलियाको काम गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमाण्डमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालयबाट ६ जना पुरूषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१ का ३६ वर्षीय दीपकबहादुर विक, वीरेन्द्रनगर–३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१२ का ३३ वर्षीय प्रदीप खड्का, लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा र वीरेन्द्रनगर–१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम रहेका छन्।
यस्तै यातायात व्यवस्था कार्यालयबाट वीरेन्द्रनगर–११ की ३२ वर्षीया रोशमी तिवारी, वीरेन्द्रनगर–३ की २५ वर्षीया लक्ष्मी शाही, वीरेन्द्रनगर–१२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्री, वीरेन्द्रनगर–३ की ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर–५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वीरेन्द्रनगर–११ की ३१ वर्षीया दुर्गा शाही, वीरेन्द्रनगर–६ की २३ वर्षीया सम्झना योगी, वीरेन्द्रनगर–११ की १८ वर्षीया रोशनी शाही, वीरेन्द्रनगर–६ की ३८ वर्षीया निर्मला योगी र वीरेन्द्रनगर–११ की २० वर्षीया गीता सुनार पक्राउ परेका छन्।