पर्सामा बालबालिकामा पनि कुष्ठरोग देखिएको पाइएको छ। लेप्रोसी मिसन नेपालले स्वास्थ्य कार्यालय पर्साको सभा हलमा बिहीबार आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको हो।
मिसनका अनुसार चालु आर्थिक वर्ष ०८२/८३ को फागुन मसान्तसम्म पर्सामा ४४ जना कुष्ठरोग प्रभावितको पहिचान भएको छ। जसमध्ये ३१ पुरूष र ९ महिला गरी एमबी संक्रमित ४० जना र पिबीमा पुरूष र महिला २/२ जना गरी ४ जनामा संक्रमण देखिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिकामा १७ वटा केस भेटिएकोमा १४ वर्ष मुनिको बालकमा समेत देखिएकोले यो चिन्ता गर्नुपर्ने र चुनौतीको विषय भएको कार्यक्रम व्यवस्थापक अमजद अली मिकरानीले जानकारी दिए।
‘वीरगञ्ज महानगरमा यस वर्ष बच्चामा कुष्ठरोग देखिएको छ, अघिल्लो वर्ष पनि भेटिएको थियो। रोग लागिसकेपछि लक्षण देखिन ३ देखि ७ वर्ष पनि लाग्छ। बच्चामा देखिएको छ भने समाजमा सक्रिय कुष्ठरोगको बिरामी छन् भन्ने संकेत गर्छ,’ उनले भने, ‘सही तरिकाले र सही समयमा कुष्ठरोग प्रभावित व्यक्ति पत्ता लगाउन सकेन भने भोलि विकराल रूप लिन्छ। मान्छे मारिहाल्ने होइन, तर शरीरको स्वरूप बिगारिदिन्छ। अंगभंग गरिदिन्छ।’
सही समय, सही तरिका, सही पद्धति र सही ठाउँमा उपचार गरिएको खण्डमा कुष्ठरोग भने सजिलै निको हुने रोग हो। स्थानीय तहले बजेट छुट्याएर कुष्ठरोग प्रभावितको पहिचानका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
त्यसैगरी पर्साको छिपहरमाई, पकाहामैनपुर, विन्दवासिनी गाउँपालिका, र ५/५ वटा, पोखरीया नगरपालिका र जगरनाथपुर गाउँपालिकामा ४/४ वटा, जिराभवानी गाउँपालिका र बहुदरमाई नगरपालिका २/२ वटा, पर्सागढी र पटेर्वा सुगौलीमा १/१ वटा केस भेटिएको छ। ठोरी गाउँपालिकामा गत वर्ष र यसवर्ष केस भेटिएको छैन। धोविनी, कालिकामाई, सखुवा प्रसौनी गाउँपालिकामा कुष्ठरोग प्रभावित भेटिएका छैनन्।
दिगो विकास लक्ष्य प्राप्तिका लागि लेप्रोसी मिसन नेपालले कुष्ठरोगमा शून्य संक्रमण दर, शून्य अपांगता र शून्य विभेद कायम गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
मिसनका अनुसार आ.व.२०८१/८२ मा १ सय ९ वटा कुष्ठरोग प्रभावित भेटिएका थिए। एमबी ८६ जना र पिबी संक्रमित २३ जना थिए।