गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरेको छ।
गौतम श्री सहकारीका व्यवस्थापक रविन विष्ट पक्राउ परेका छन्।
गौतमश्रीको ४७९१ जनाको बचत रकम ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार छ। त्यसमध्ये दुई अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ।
त्यस बाहेकको विवरण कागजात भने नरहेको प्रहरीले जनाएको छ।
गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई पक्राउ परेका छन्।
गोरखाको बचतकर्ता १० हजार ५९८ छन्। उनीहरूको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत छ।
एक अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ ऋण प्रवाह भएको देखिएको हो। त्यसबाहेक बाँकी रकमको विवरण नदेखिएको प्रहरीले जनाएको छ।
प्रवाह भएको ऋणसमेत कमसल धितो, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएका कारण असुली हुन नसकेको हुँदा बचत फिर्ता गर्न नसकेको अनुसन्धान गरेको छ।
उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ।