प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ।
पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?,’ उनले लेखेका छन्।
सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डिपी अर्याल हुने निश्चित भएको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा उनको मात्रै उम्मेदवारी परेको थियो।
आइतबार उनी सभामुख नियुक्त हुनेछन्। उपसभामुख भने विपक्षी दललाई दिइने अभ्यास छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ।