काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ कोशी देखामा झण्डै ४ सय जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।
सेभ द हार्ट, ओम मोगाश्री फर्मास्युटिकल्स र एनआरएनए इटालीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा इसिजी, इको लगायतका परीक्षण गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा अनिल भट्टराईले जानकारी दिए।
उनले ५ जनाको जटिल शल्यक्रिया जरूरी रहेकाले रिफर गरिएको बताए। त्यसको समन्वय पनि आफूहरूले गर्ने डा.भट्टराईले बताए।
शिविरका लागि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग थियो।
सेन्टरका कार्डियो थोरासिक भास्कुलर सर्जरीका प्रमुख समेत डा. अनिल भट्टराई सहित मुटुरोग विशेषज्ञहरू डा.खेम भुसाल र समिर यादवको टिमले मुटु परीक्षण गरेको थियो।
शिविरमा औषधि समेत वितरण गरिएको थियो।
स्वास्थ्य र राष्ट्रको संकल्प सहित मुटु बचाउने अभियानमा एउटा प्रयास गरेको ओम मोगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुन श्रेष्ठले बताए।