म, विस्थापित सुकुम्बासी
मेरो नाम पार्वती लिम्बू, ५८ वर्षको भएँ।
म यहाँ बल्खुको सुकुम्बासी बस्तीमा बस्न थालेको २० वर्ष भयो। २०६२ सालमा हो यहाँ आएको।
मेरो पुर्ख्यौली घर धनकुटा हो। त्यहाँ जायजेथा केही छैन। भएको सानो पाखोबारीले दुई छाक खान पनि पुगेन। काठमाडौंमा निमेक गरेर भए पनि खान पाइएला भन्ने आसले यता आएँ।
यहाँ आउँदा बूढा र छोराछोरी पनि सँगै थिए। तर १०-१२ वर्षदेखि एक्लै छु। सबै आ-आफ्नै बाटो लागे, म एक्लै परेँ। यहीँ बल्खु तरकारी बजारमा प्याज, लसुन र आलु केलाउने काम गर्छु। म एक्लो ज्यानलाई खान पुगेकै छ।
आज आफ्नै आँखाअगाडि २० वर्षदेखि बस्दै आएको टहरामा डोजर चल्दा मन भारी भइरहेको छ। हिजो त दिनभरि नै रोएर बसेँ। मलाई घामपानीबाट बचाएको टहरा हो नि यो! धेरै दु:खसुखका दिन बिते यहाँ। आज हेर्दाहेर्दै मेरो टहरा माटो भयो।
हुन त यो सुकुम्बासी बस्ती रहँदैन, कुनै न कुनै दिन सरकारले भत्काउँछ भन्ने हाम्रो मनमा थियो नै। तर सुकुम्बासी भए पनि नेपाली जनता नै बस्दै आएको बस्ती भत्काउँदा राज्यले यस्तरी आँखा चिम्लेर डोजर चलाउँछ होला भन्ने चाहिँ लागेको थिएन।
सरकार त आफै नियम बनाउने, कानुन बनाउने हो क्यारे! सुकुम्बासी बस्ती रातारात उजाड्न पाइँदैन, हामीलाई कहीँ न कहीँ सानो टुक्रा भए पनि जग्गाको बन्दोबस्त गरेर मात्र हटाउनुपर्छ भन्ने नेपालको कानुन छ रे! हामीलाई भन्दा बढी सरकारलाई नै थाहा होला! पढेलेखेका मान्छेहरूलाई थाहा होला!
म त यति मात्र भन्छु, सरकारलाई हाम्रो घर भत्काउनु नै थियो भने कम्तिमा हाम्रो बसोबासको बन्दोबस्त गरेर मात्र भत्काइदिएको भए हुन्थ्यो।
तर अहिले हामीलाई कहाँ जाने, के गर्ने, केही थाहा छैन। आजको रात कहाँ बिताउने हो भन्ने पनि थाहा छैन। घरका यी सारा सामान कहाँ लगेर राख्ने हो भन्ने पनि थाहा छैन।
यहाँ धेरै जना डेरा खोज्न दौडादौड गरिरहेका छन्। मैले पनि कीर्तिपुरतिर कतै पाइन्छ कि भनेर खोजेको थिएँ। पाइनँ। सामान पनि राम्ररी सार्न पाएको छैन। सबै बाटो छेउ लथालिंग छाडेको छु।
सरकारले कम्तिमा हामीलाई डेरा खोज्न, सामान सार्न साता-दस दिनको समय दिएको भए अहिले यस्तो बिचल्ली हुने थिएन। उडिरहेको चराले ठुँग्न आएजस्तै एक्कासि डोजरले ठुँगेर गयो।
सरकारको मनमा हामी गरिबहरूमाथि अलिकति पनि दयामाया भइदिएको भए यस्तो गर्ने थिएन। ढुंगाको मुटु रहेछ।
उनीहरूले यहाँ सुकुम्बासी बस्तीमा धनीहरू पनि बसेका छन् भनेर आरोप लगाएका छन् रे। यिनीहरू त सुकुम्बासी होइनन्, हुकुम्बासी हुन् भनेर भन्दा रहेछन्। होलान् कोही कोही त्यस्ता। तर को सुकुम्बासी हो, को हुकुम्बासी भनेर पत्ता लगाउने त सरकारकै काम होला नि, होइन र?
अनि धनी-गरिब, सुकुम्बासी-हुकुम्बासी नछुट्टयाई सबैलाई एकै डालोमा हालेर यसरी उठिबास पार्न मिल्छ?
यसले समस्या कसलाई भयो त?
यहाँ कोही धनीहरू बसेका भए उनीहरू त सरक्क अर्को ठाउँमा जाने भइहाले, मर्का पर्ने त हामी गरिबलाई नै हो। असली सुकुम्बासीलाई नै हो। यत्ति सानो कुरा पनि बुझेन सरकारले।
सरकारले धनी-गरिब छुट्टयाएर, सुकुम्बासी बस्तीमा बसिरहेका धनीहरूलाई कारबाही गरेर हामी गरिबहरूका लागि अर्को बन्दोबस्त गरेपछि मात्र बस्ती हटाएको भए के जान्थ्यो?
अहिले रातारात बस्ती हटाएर के पाउँछ अब सरकारले?
सरकारले गरिबहरूलाई गरेको यो बिचल्लीको म विरोध गर्छु। मलाई यो कसैगरी पनि मन परेन।
पहिले पहिले राज्य पछाडि लाग्यो भने सर्वस्व जान्छ भन्ने सुनेको थिएँ, हो रहेछ!
राज्य भनेको त यति निर्दयी पो हुँदो रहेछ!
(बल्खु सुकुम्बासी बस्तीबाट विस्थापित पार्वती लिम्बूसँग सेतोपाटीकी सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)