लुपसलाई देखिने बनाऔं भन्ने नाराका साथ यस पटकको विश्व लुपस दिवस मनाइएको छ।
यसैबिच लुपस नेपालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनचेतनामूलक कार्यक्रम गरेको छ।
अदृष्य पिडा देखिने संघर्ष स्लोगान सहित लुपस नेपालले गरेको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र अभियन्ता लगायतको सभागिता थियो।
विश्वरभर ५० लाख भन्दा धेरैमा लुपस रहेको अनुमान छ।
लुपस के कारणले र कसरी हुन्छ भन्ने विषय अज्ञात रहेता पनि वंशाणुगत, महिलाहरूमा हुन सक्ने हर्मोन, भाइरस लगायतका केही संक्रमण यो रोगको कारण मानिन्छ।
लुपसले शरीरका विभिन्न अंगहरूमा असर पुर्याउने हुनाले यसका लक्षण पनि फरक फरक हुने बाथ रोग विशेषज्ञ केशव सिग्देलले बताए।
‘सामान्य अवस्थामा प्रतिरक्षा प्रणालीले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ। तर लुपस भएका बिरामीमा यही प्रणाली अत्यधिक सक्रिय भई शरीरकै विभिन्न अंगमा सुजन गराउँछ,’उनले भने,’यसले छाला, जोर्नी, मिर्गौला, मुटु, फोक्सो, स्नायु लगायतका अंगमा असर गर्न सक्छ। असरको आधारमा रोग सामान्यदेखि गम्भीरसम्म हुन सक्छ।’
यो रोग विशेष गरी १५ देखि ३५ वर्ष उमेर समूहमा बढी देखिन्छ।
पुरूषभन्दा महिलामा यसको जोखिम धेरै हुन्छ। करिब १० जनामध्ये ९ जना महिला र १ जना पुरूषमा लुपस देखिने तथ्य छ।
महिलामा हर्मोनको प्रभावका कारण यो समस्या बढी हुने मानिन्छ। महिनावारी सुक्ने समयमा पनि केही महिलामा यो रोग देखिन सक्छ।
लुपस पूर्ण रूपमा निको हुने रोग होइन। तर उचित औषधि र नियमित उपचारबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ। औषधि खाँदा लक्षण कम भयो भन्दैमा चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन।