कुनै पनि जोडीहरू एक वर्षसम्म लगातार सम्पर्कमा बस्दा गर्भ रहँदैन भने त्यसलाई इन्फर्टिलिटी वा सबफर्टिलिटी भनिन्छ।
अथवा कुनै महिलाको उमेर ३५ वर्षभन्दा माथि छ र ६ महिनासम्म प्रयास गर्दा पनि गर्भ रहँदैन भने त्यसलाई समेत सबफर्टिलिटी भनिन्छ।
सबफर्टिलिटी वा इन्फर्टिलिटी बढेको हो कि बढेजस्तो देखिएको हो भन्ने विषयमा केही कारणहरू देखिएका छन्।
जस्तै, अहिले विवाह ढिलो हुने प्रवृत्ति बढेको छ। जागिर, करिअर वा आर्थिक रूपमा बलियो हुने सोचका कारण बच्चाको योजना पनि ढिलो बनाइन्छ।
ढिलो विवाह गर्ने कारणले अण्डाको संख्या र गुणस्तर दुवैमा कमी आउँछ। सामान्यतया ३५ वर्ष कटेपछि महिलाको अण्डाको गुणस्तर र संख्यामा धेरै ह्रास आउन थाल्छ। त्यसैगरी पुरूषमा पनि ४० वर्ष कटेपछि विर्यमा समस्या आउन सक्छ। यसले गर्दा एकातिर बच्चा रहने सम्भावना कम हुन्छ भने अर्कोतिर गर्भ खेर जाने जोखिम बढ्दै जान्छ।
इन्फर्टिलिटी बढ्दै जानुको अर्को प्रमुख कारण हाम्रो जीवनशैली पनि हो। अहिले धेरैजसो मानिस सक्रिय भएर काम गर्दैनन्। टेबुल–बेन्चमा बसेर काम गर्ने बानी बढेको छ। उकालो–ओरालो गर्ने वा खेतबारीमा काम गर्ने गतिविधि कम हुँदै गएको छ। शरीरको गतिविधि कम हुँदा हर्मोनको सन्तुलनमा पनि समस्या आउन सक्छ।
मोटोपनाका कारण ‘पोलिसिस्टिक ओभेरियन डिजिज (पीसीओडी)’ अर्थात् ‘पीसीओएस’ समस्या बढ्दै गएको छ। अहिले यसलाई ‘पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम’ भनेर पनि व्याख्या गर्ने गरिन्छ।
मोटोपनाका कारण हर्मोनसम्बन्धी समस्या आउँछ, जसले गर्दा बच्चा बस्न गाह्रो हुन्छ। जंक फुड तथा धेरै कार्बोहाइड्रेटयुक्त खाना खाने बानीले पनि गर्भधारणमा समस्या ल्याउन सक्छ।
अर्कोतर्फ, वातावरणीय प्रदूषणले पनि प्रजनन क्षमतामा असर गरिरहेको छ। अहिले २९–३० वर्षकै महिलाहरूमा पनि ४० वर्ष कटेका महिलाजस्तै अण्डा भण्डार कम भएको देखिन थालेको छ। पुरूषहरूमा समेत शुक्राणुको संख्या घट्दै गएको छ।
चुरोटसँगै हुक्का, ई–सिगरेट र भेपको सेवन पनि सबफर्टिलिटीको कारण बन्न थालेको छ। अण्डकोषमा आउने समस्याले पनि प्रजनन क्षमतामा असर पुर्याउँछ।
विदेशमा अत्यधिक तातो तापक्रममा काम गर्ने पुरूषहरूमा पनि बाँझोपनाको समस्या बढ्दै गएको देखिएको छ।
सबफर्टिलिटी हुनुका मुख्य तीन कारण छन्—महिला, पुरूष वा दुवैका कारण यस्तो समस्या हुन सक्छ।
पहिले गर्भ नरहँदा पुरूषकै कारण भए पनि महिलालाई मात्र दोष दिने गरिन्थ्यो। कहिलेकाहीँ शुक्रकिट देखिए पनि सक्रिय शुक्राणु नआउने समस्या हुन्छ, जसले बाँझोपना निम्त्याउँछ। अहिले भने पुरूषहरूले पनि यो विषयलाई विस्तारै स्वीकार गर्न थालेका छन्।
इन्फर्टिलिटीको मुख्य कारणमध्ये पहिलो कारण उमेर हो। उमेर बढ्दै जाँदा अण्डाको संख्या र गुणस्तर घट्दै जान्छ। पुरूषको हकमा शुक्राणु उत्पादन जीवनभर भइरहे पनि यसको गुणस्तर घट्न सक्छ, जसका कारण गर्भ खेर जाने वा असामान्य बच्चा जन्मिने जोखिम रहन्छ।
उमेरमै बच्चा जन्माउन सम्भव नभएमा अण्डा संरक्षण गरेर राख्न सकिन्छ। २८–३० वर्षको उमेरमै अण्डा निकालेर सुरक्षित राख्ने र ४०–४५ वर्षको उमेरमा प्रयोग गर्ने अभ्यास अहिले भइरहेको छ।
प्रजनन क्षमताको परीक्षण गरेपछि मात्र कुन उपचार गर्ने भन्ने तय हुन्छ। अण्डाको परीक्षण गरेर प्राकृतिक रूपमा अण्डा फुटाउने औषधि दिई प्रयास गरिन्छ। यसरी पनि सफल नभए आइयूआई प्रविधिबाट प्रयास गरिन्छ। त्यसपछि पनि सम्भव नभए मात्र आइभिएफ प्रविधिबाट गर्भधारण गराइन्छ।
यो प्रक्रियामा ल्याबमै भ्रूण तयार गरेर महिलाको पाठेघरमा राखिन्छ। कहिलेकाहीँ श्रीमानको शुक्राणुमा समस्या भए शल्यक्रियामार्फत शुक्राणु निकालेर पनि उपचार गरिन्छ।
(हार्दिक आइभिएफ एन्ड फर्टिलिटी सेन्टरमा कार्यरत प्रजनन विशेषज्ञ डा. निसुमा सेढाईंसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)