श्रीमानले छोडेपछि २७ वर्षीया सकुन्तला कुमारी सिंह बेवारिसे जस्तै भएकी थिइन्। साथमा ३ वर्षकी छोरी थिइन्। जब छोरीको अनुहारमा हेर्थिन्। उसको लागि भए पनि आफू जीवित हुनुपर्छ भन्ने अठोट लिन्थिन्। तर जो सँग प्रेम गरेर घर, पढाई छोडेर आएकी थिइन्। उसले नै छोरी तीन वर्षको नहुँदै छोडिदियो।
त्यसपछि उनलाई यो बिरानो सहरमा कसैको साथ मिलेन। छोरीलाई डोहोर्याउँदै हिँडिन्। कामहरू केही नभएकाले कम शुल्कमा ओत लाग्ने ठाउँ खोज्दै हिँड्दा शान्तिनगरको सुकुम्बासी बस्ती पुगिन्। त्यहाँ उनलाई ओत लाग्ने ठाउँ मिल्यो।
'कम शुल्कमा ओत लाग्ने ठाउँ खोजिरहेको थिएँ, जहाँ गए पनि ५/७ हजार भन्दा कममा कोठा पाएको थिइनँ। सुकुम्बासी बस्तीमा ३५ सयमै कोठा पाएपछि त्यहीँ बसेँ,' सकुन्तला कुमारीले भनिन्, 'कपडा पसलमा काम गरेर दुई आमाछोरीको ज्यान पालिरहेको थिएँ।'
एक डेढ वर्षदेखि उनी सुकुम्बासी बस्तीमा डेरा लिएर बसेकी थिइन्। वैशाख १२ गते घरहरू भत्काएपछि आफू फेरि सडकमा आइपुगेको उनी बताउँछिन्।
जाने ठाउँ कतै थिएन। सरकारले दुई छाक खाना खुवाउँछ भनेर पछि छोरीलाई साथमा लिएर हिँडेँ। केही दिन होटलमा राखेपछि अहिले नगरकोट ल्याइपुर्याएको हो।
उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-६ को पिपलडाँडास्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ,अनुसन्धान, नवप्रवतन तथा क्षमता अभिवृद्धि केन्द्रमा राखिएको छ।
२१ परिवारको ८८ जनालाई उक्त केन्द्रको दुई वटा भवनमा राखिएको छ। जसमा परिवारको संख्या हेरेर कोठा बाँडिएको उनी बताउँछिन्।
'हामी आमा छोरी र एक बहिनीलाई दुई वटा खाट भएको कोठा दिइएको छ,' उनले भनिन्, 'कोठाभित्रै शौचालय छ, कुनै समस्या छैन।'
उनले थपिन्, 'हाम्रो त ठिकै छ। बालबच्चाको बिजोग भयो।'
उनको छोरी अहिले ४ वर्षकी छिन्। उनलाई बिहान-बेलुका दुई छाक खाना खाएर मात्र पुग्दैन। एक दुई घन्टाको फरकमा दुध, लिटो, फलफूल वा पसलका खानेकुरा खानुपर्छ, छोरीले घरै जस्तो सोचेर माग्छिन्। तर केही खुवाउन नसकेको उनी बताउँछिन्।
उनी कपडा पसलमा काम गर्थिन्। ओत लाग्ने ठाउँ भत्काएपछि उनको जागिर पनि गुम्यो। त्यसपछि सरकारले जहाँ लगेर राखे पनि आमा छोरीको ज्यानको सुरक्षा हुन्छ भन्ने सोचेर हिँडेको उनको भनाइ छ।
‘सरकारले जहाँ लगेर राखे पनि बच्चाको खानेकुरामा विशेष ध्यान दिए हुन्थ्यो,’ उनले भनिन्।
सकुन्तला कुमारी सिंह।
२९ वर्षीया सुशिला राईलाई पनि छोराकै पीर छ।
सुशिलालाई खाना जे दिए पनि खान्छिन्। तर उनका २ वर्षका छोराले खाँदैनन्।
'छोराले छिनछिनमा खानेकुरा माग्छ, पकाउने भाडाकुँडा छैन। नजिकै पसल पनि छैन,' उनले भनिन्, 'ठूला र बच्चालाई एकै नासको खान्की हुँदा गाह्रो भाको छ।'
बच्चाहरूलाई छिनछिनमा फलफूल लगायत पौष्टिक खानेकुरा खुवाउनुपर्ने हुन्छ। तर केही छैन। उनले घरमा हुँदा समय मिलाएर विभिन्न खानेकुरा खुवाइरहेकी हुन्थिन्।
उनको घर शान्तिनगरमा थियो। ४ कोठाको घरमा उनी र उनका छोरा मात्र बसिरहेका थिए। उनका श्रीमान मलेसियामा छन्। उनीहरूलाई बस्न नगरकोटमा एउटा खाट भएको कोठा दिइएको छ। शौचालय त्यहीँ भित्रै छ। त्यसकारण आफूलाई बस्न केही समस्या नभएको उनले सेतोपाटीलाई जानकारी दिइन्।

उनी सरकारले जहाँ लगेर राखिदिए पनि बच्चाका लागि त्यही अनुसारको व्यवस्थापन गरिदिन आग्रह गरेकी छन्।
५९ वर्षीया मिना दर्नाललाई भने सरकारले गरेको कामप्रति कुनै गुनासो छैन। तर उचित बसोबास, शिक्षा र स्वास्थ्य सँगै रोजगारीको व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ।
'छोराछोरीले पढेनन्। ३ जना नातानातिनी छन्। उनीहरूलाई दु:ख सुख गरेर भए पनि पढाइरहेका थियौं। उनीहरूको भविष्य बिगार्न चाहिँ भएन,' उनले भनिन्, 'यहाँ यसै बस्नुभन्दा केही दिनका लागि नजिककै सामुदायिक विद्यालयमा पठाएइको छ। तर त्यसरी हुँदैन। स्थायी बसोबास र विद्यालय चाहियो।'
मिनाको नातानातिनी मात्र होइन, त्यहाँ भएका १४/१५ जना बालबालिकाहरू विद्यालय जान्छन्।
उनीहरू सोही वडामा भएको श्रीकालिका माध्यमिक विद्यालयमा जान्छन्। विद्यालयको शिक्षक सहित एउटा भ्यान लिन आउँछ।
'पढ्न बिर्सेलान् कि भन्ने डर भएरै त्यहाँ पढाएको हो। यहाँ बस्दा मोबाइल मात्र हेरिरहन्छन्, वाक्कै बनाउँछन्,' उनले भनिन्, 'स्कुल जान थालेपछि बालबालिकाहरू पनि खुसी भएका छन्।'
त्यहीँका सामुदायिक विद्यालयमा उनका दुई जना नातानातिनी पढ्छन्। एक जना नातिनी काठमाडौंमै स्नातक अध्ययन गरिरहेकी छन्। काठमाडौंमै छोरा र नातिनी सँगै बस्छन्, बुहारी भने बिदेशमा छिन्।
एक छोरी र दुई नाता नातिनीहरूसँग उनी होल्डिङ सेन्टरमा छिन्।
त्यहाँ स्वास्थ्यमा समस्या हुँदा अस्पताल जान टाढा पुग्नुपर्ने रहेछ। पसलहरू पनि छैनन्। बालबालिकाहरूले केही खानेकुरा माग्दा पनि दिन नपाइने मात्र समस्या रहेको उनको भनाइ छ।
उनको परिवारलाई सिनामंगलबाट नगरकोट पुर्याइएको हो। उनीहरू सिनामंगलमा ४ दशकदेखि बस्दै आएका थिए। उनका छोराछोरी नै त्यहीँ जन्मेहुर्केका हुन्।
उनीसँग नगरपालिकाले बस्न अनुमति दिएका कागजात पनि छन्। त्यही पनि घर भत्काइदिएपछि उचित व्यवस्थापन गरिदिएमा कुनै गुनासो नरहने उनी बताउँछिन्।
'बालेन शाह मेरो छोराको साथी थियो। त्यसैले केही भन्न मन लाग्दैन,' उनले भनिन्, 'जे गरे पनि राम्रै गर्छ भन्ने आश छ। अब बिचल्ली नै त नबनाउला नि।'
४२ वर्षीया इन्दिरा मगर एक्लै छिन्। उनका छोराछोरी आफन्तको घरमा छन्। एक्लो नगरकोट पुगेकाले उनलाई सरकारले जहाँ लगेर राखे पनि खासै समस्या छैन। तर यसरी होटल-होटलमा लगेर राख्नुभन्दा कुनै स्थायी बसोबासको ठाउँ दिए हुने उनी बताउँछिन्।
सरकारले तीन पुस्ते विवरण नै मागे पनि एक आना जग्गा छैन। त्यही कारण जहाँ लगेर राखे पनि स्थायी बसोबास गर्ने ठाउँ दिए हुने उनको भनाइ छ।
५७ वर्षीया गंगा बिकको ५ वर्षीय नाति साथमा छ। उनको नाति एलकेजीमा पढ्छ। बुहारीले छोडेर हिँडेपछि छोराले पनि अर्कै विवाह गरेर बाहिर बसेको थियो। गंगा मात्र शान्तिनगरको सुकुम्बासी बस्तीमा बस्थिन्। बुहारीले छोडेर हिँडेपछि दुई वर्षदेखि नातिको सहारा उनी नै हो।
उनले नै नातिको हेरचाह गरिरहेकी छिन्। उनी अरूको घर र क्याटरिङको काम गरेर भए पनि नातिलाई हुर्काइरहेकी थिइन्।

अब सरकारले नै पढाउने भनेपछि उनलाई त्यसमा चिन्ता छैन तर नाति सानै भएकाले दुई/तीन घन्टामा खानेकुरा मागिरहन्छ। त्यसले गर्दा उसको खुवाइमा समस्या भएको उनी बताउँछिन्।
गंगाको जस्तै ५५ वर्षीया कल्पना नेपालीले पनि १२ वर्षीया नातिको हेरचाह गरेर मनोहरामा बसिरहेकी थिइन्। नाति बसन्त नेपालीलाई बाआमाले नै छोडेपछि उनले नै हुर्काएकी हुन्।
'उसकी आमाले अबदेखि मलाई सम्पर्क नगर्नू भनेर हिँडेकी छन्,' उनले भनिन्, 'त्यसपछि बुबाले पनि अर्की ल्याएर बस्यो। नातिको हेरचाह मैले नै गर्दै आएकी छु।'
उनले थपिन्, 'अहिले म आफै बिरामी भएको छु। केही भइहाल्यो भन्यो यसको बिजोग हुन्छ।'
उनलाई अहिले मुटुको धड्कन बढेर दैनिकी गुजार्न नै समस्या भएको छ। उनी लामो समयदेखि औषधि उपचार गर्दै आएकी थिइन्। तर नगरकोट पुगेदेखि अस्पताल जान नपाएको उनको भनाइ छ।
थप तस्बिरहरूः


