उदयपुरको वेलका नगरपालिकामा विद्युत लाइनमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
आज बिहान करिब १०ः३० बजे वेलका नगरपालिका–९ स्थित रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत करिब ४० वर्षीय मिलन राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेपछि उनी करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल रामपुर नगर अस्पताल पुर्याई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा आज दिउँसो १२ः०५ बजे नोबेल अस्पतालका चिकित्सकले राईलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।