मोटरसाइकल दुर्घटनामा परेर महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु भएको छ।
विराटनगर –१० मा बिहीबार बिहानको राति उनले चलाएको मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय पोखरेलको मृत्यु भएको हो।
विराटनगरको बजार क्षेत्रबाट जतुवातर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
विराटनगर–४ का पोखरेलको टाउको र नाकमा चोट लागेको थियो। उनी भर्खरै सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयन भएका थिए।
विराट नर्सिङ होममा उनलाई राति १ः १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।