त्रिपुरेश्वरस्थित दशरथ रंगशालाभित्र 'नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ' को एकेडेमीतिर बढ्दा खेलकुदको कुनै उत्साह भेटिँदैन।
कुनै बेला खेलाडीहरूको 'किक' र 'पञ्च' ले गुञ्जिने यो एकेडेमीको खुला ढोकाबाट अचेल एउटा फरक र कारूणिक दृश्य चियाइरहेको देखिन्छ।
ढोकामाथि 'जस्टिस, ट्रुथ, वर्ल्ड पिस' (न्याय, सत्य, विश्व शान्ति) लेखिएको सेतो बोर्ड झुन्डिएको छ। तर त्यही ढोकाभित्र राष्ट्रिय गौरवका ट्रफी होइनन्, वैशाख १२ गते नदी किनारका सुकुम्बासी बस्ती भत्काइएपछि त्यहाँबाट विस्थापितहरूका छरपस्ट सामानको थुप्रो छ।
सरकारले वर्षौंदेखि ओत लागेको घरमा डोजर चलाएपछि सुकुम्बासीहरूका लागि यो रंगशाला आफ्ना बाँकी बचेका सपना र सरसामान थन्क्याउने 'अस्थायी गोदाम' बन्न पुगेको छ।
रंगशालाको यही कुनामा थुपारिएका सुकुम्बासी सामानको थुप्रो नियाल्ने हो भने, यसले कुनै कवाडीको संकलन होइन, एउटा सिंगो परिवारको अस्तित्वको कथा भनिरहेको भान हुन्छ।
भुइँमा ओछ्याइने कटनका पुराना गद्दा, झुत्रा कपडा, रंगीचंगी तन्ना र केही काठका टुक्रा आपसमा जेलिएका छन्। यो लथालिंग दृश्यको बीचमा सबभन्दा बढी मन अमिलो बनाउने दुईवटा चिज देखिन्छन् — भुइँमा लडिरहेका दुइटा साना स्कुल ब्याग।
एउटा कालो ब्याग, जसमा पहेँलो भालुको चित्र छ र अंग्रेजीमा 'SPACE' लेखिएको छ। अनि, अर्को 'एडिडास' लेखिएको खेलकुद ब्रान्डको जस्तो देखिने सानो झोला।
यी दुई झोलाले केही दिनअघिसम्म बागमती किनारको कुनै सानो झुप्रोबाट कापी-कलम बोकेर विद्यालय जाने कुनै अबोध बालकको पदचाप सम्झाउँछन्। डोजर चल्दा ती नानीहरूले आफ्ना पुस्तक जोगाउन पाए कि पाएनन् होला?
ती झोलाहरू अहिले काठका टुक्रा र मैला कपडाहरूका बीचमा यस्तरी पुरिएका छन्, मानौं ती बालबालिकाको भविष्य पनि यो सहरको विकासको दौडमा कतै थिचिएको छ।

अर्कातर्फ, घरको एउटा बलियो खम्बा मानिने भान्छाको दुरावस्था छ। एउटा पहेँलो रङको प्लास्टिकको ठूलो ड्रम, एउटा नीलो ग्यालन, हरियो प्लास्टिकको जग र काठको एउटा सानो र्याक — जसमा खाना पकाउने आल्मुनियमको डेक्ची घोप्ट्याएर राखिएको छ। माथि एउटा पुरानो चकटी र मैलो कपडाले छोपिएको छ।
कुनै बेला यही डेक्चीमा बेलुकीको भुटभाट पाक्थ्यो होला! परिवारका सदस्यहरू सँगै बसेर हाँस्दै, खाँदै सुख-दुःखका कुरा गर्थे होलान्!
तर वैशाख १२ को त्यो दिनले यो भान्छा सधैंका लागि निभाइदियो।
अहिले यो भान्छा केही थान पुराना प्लास्टिकका भाँडाको थुप्रो मात्र बनेको छ, जसलाई कुन दिन कहाँ बोकेर लैजाने हो, यसका धनीहरूलाई नै थाहा छैन।
रंगशालाको एक भित्ताको आडैमा २० लिटरको एउटा नीलो जार राखिएको छ र त्यसकै ठिकमुनि भुइँमा एउटा फोटो फ्रेम ढल्केको छ। त्यो फ्रेमको सिसा पूर्ण रूपमा फुटेर टुक्रा-टुक्रा भएको छ।
सिसाभित्र कुनै पुराना सम्झना वा तस्बिरको धमिलो आकृति देखिन्छ, जसमा नीलो रङको छाप छ। यो फुटेको ऐना वा फ्रेम एउटा भौतिक वस्तु मात्र होइन, यो बागमती किनारबाट लखेटिएका ती मानिसहरूको वर्तमान अवस्थाको विम्ब हो।
जसरी यो फ्रेमको सिसा फुट्यो, त्यसरी नै उनीहरूको सुरक्षित भविष्यको आशा पनि चकनाचुर भएको छ। सहरले उनीहरूलाई कसरी हेर्छ भन्ने कुरा यो धुलो लागेको र सिसा फुटेको तस्बिरले प्रस्ट पार्छ।
सुकुम्बासी बस्तीमा डोजर चलेको दुई महिनाभन्दा बढी भइसकेको छ। रंगशालाको बाहिरी कम्पाउन्ड र खुला ठाउँहरूमा हेर्दा लाग्छ, यहाँ एउटा ठूलो आँधी आएर भर्खरै शान्त भएको छ। खुला चउरको छेउमा पुराना दराज, काठका फल्याक, ओछ्यानका डसना र प्लास्टिकका बोराहरू लस्करै राखिएका छन्।
रंगशालाको यो दृश्यले भनिरहेको छ — यहाँ मानिसहरू बस्दैनन्, यहाँ त केवल उनीहरूका 'अवशेष' हरू सुरक्षित राखिएका छन्।
वैशाख १२ गते उठिबास लागेपछि धेरैले आफ्ना सामान सुरक्षित ठाउँको खोजी गर्दै बिस्तारै लिएर गइसके। कोही आफन्तकहाँ शरण पर्न पुगे त कोही सहरकै अर्को कुनै कुनामा नयाँ डेराको खोजीमा निस्किए। तर जसको यो सहरमा कोही छैन, उनीहरूका सामान अझै पनि यही रंगशालाको कुनामा पालेझैं बसेका छन्।

कतिपय सुकुम्बासीहरू दिनौं आउँछन्, आफ्ना सामान हेर्छन्, लामो सुस्केरा हाल्छन् र फेरि रित्तो हात फर्किन्छन्। लैजान त लैजाने, तर कहाँ? उनीहरूसँग यो प्रश्नको कुनै जबाफ छैन।
'केही दिनअघि पानी पर्दा चउर अगाडि पूरै डुबेको थियो। यहाँ अगाडि राखेका सामानहरू पनि भिजे,' दशरथ रंगशालामा सुरक्षा दिइरहेकी बबिता रोक्काले भनिन्, 'पानीमा डुबेका सामानहरू अब प्रयोग गर्न सक्ने अवस्थामा छैनन्।'
उनले थपिन्, 'सामानहरूबाट दुर्गन्ध पनि फैलिन थालिसकेको छ।'
उनी एक वर्षदेखि यहाँ सुरक्षाकर्मीका रूपमा कार्यरत छिन्। उनका अनुसार कतिपयले सामान लिन आएको भन्दै अरूकै सामान लिएर गएका छन्।
केही साताअघि आफूलाई सुकुम्बासी भन्दै एक युवक सामान लिन आएका थिए। उनले नाम र नम्बर टिपाएपछि सामान दिएर पठाइयो। तर ती युवकले आफ्नो नभई अरूको सामान लिएर गएको पछि मात्र थाहा भएको उनी बताउँछिन्।
'कुन सामान कसको हो भन्ने कुनै विवरण छैन, एउटै कोठाभित्र १० जनाभन्दा बढीको सामान छ। उनले यो-यो मेरो हो भनेर निकालेर लगे,' रोक्काले भनिन्, 'हामीलाई पनि पछि मात्र थाहा भयो। नाम र नम्बर त टिपेका थियौं, तर त्यो नम्बरमा त फोन नै लाग्दैन रहेछ।'
त्यो घटनापछि भने सामान लिन आउनेहरूको सुकुम्बासी दर्ता नम्बरसमेत मागेर राख्न थालिएको छ। कतिपयले आएर तत्काल लगाउन मिल्ने राम्रा र महँगा सामानहरू निकालेर लगेका छन् भने बाँकी त्यहीँ छाडिदिएका छन्। कतिपयले भने आफ्ना कुनै पनि सामान लिन नआएका हुन् कि जस्तो उनलाई लाग्छ।
'यहाँ हामी दुई/तीन जना छौं। चौबीस घन्टामा फरक फरक व्यक्ति सुरक्षामा बस्ने भएकाले कसले कति लगे, लग्न बाँकी कति छ भन्ने यकिन थाहा हुँदैन,' उनले भनिन्, 'अन्यत्रको सामान नलगे पनि यो तेक्वान्दो एकेडेमीको चाहिँ लगिदिए हुन्थ्यो। यहाँ खेलाडीले अभ्यास गर्न पाएका छैनन्।'
उनका अनुसार तेक्वान्दो एकेडेमीमा दिनहुँ खेलाडीहरूले तालिम गरिरहन्थे। तर सामान राखिएकाले साढे दुई महिनादेखि उनीहरूले केही गर्न पाएका छैनन्। यसले खेलाडीहरू आक्रोशित हुने गरेको र आफूहरूले सम्झाइबुझाइ गरिरहेको उनी बताउँछिन्।
यो सामान लिएर जान अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पटक पटक आग्रह गरेको पनि उनले जानकारी दिइन्।
जहाँ हरेक साँझ खेलकुद खेलाइन्छ, त्यहीँ भित्र एउटा कुनामा थुप्रिएका यी पुराना कपडा, प्लास्टिकका बाल्टिन र फुटेका सिसाले सहरको सुकुम्बासी कथा बोलिरहेका छन्। सामान त बिस्तारै उठ्लान वा कवाडीमा परिणत होलान्, तर ती हजारौं आँखामा उब्जिएको राज्यप्रतिको आक्रोश र आँसुको हिसाब यो सहरले कहिले गर्ला?
रंगशालाको यो शान्त कुना अहिले यही प्रश्नको जबाफ पर्खिरहेको छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
***









