अमेरिकी रक्षा मन्त्रालयले इरान युद्धमा हालसम्म ३७ अर्ब डलरभन्दा बढी खर्च भएको जनाएको छ।
रक्षा मन्त्री पिट हेगसेथले संसदीय सुनुवाइको क्रममा फेब्रुअरी ८ देखि सुरू भएको इरान युद्धमा ३७ अर्ब डलरभन्दा बढी खर्च भएको जानकारी दिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यसमा हालसम्मको युद्ध खर्च र आगामी सेप्टेम्बर ३० सम्म लाग्ने अनुमानित खर्चसमेत समावेश गरिएको हेगसेथले बताएका छन्।
यद्यपि पेन्टागनले यो खर्च कुन-कुन विषयको हो भन्ने चाहिँ खुलाएको छैन। खर्च वास्तविक हो कि होइन भन्ने पनि प्रष्ट नभएको रोयटर्सले जनाएको छ। किन भने युद्धको पहिलो ६ दिनमै अमेरिकाले ११.३ अर्ब डलर खर्च गरेको सार्वजनिक भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना कांग्रेससँग थप करिब ९० अर्ब डलर बजेट माग गरेका थिए। यो बजेटको अधिकांश हिस्सा पनि इरान युद्धसँग सम्बन्धित थियो। यसले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी संसदमा नयाँ राजनीतिक विवाद निम्त्याएको छ।
युद्धविरुद्ध जनमत र राजनीतिक दबाब
अमेरिकामा इरान युद्ध लोकप्रिय नभएको जनमत सर्वेक्षणहरूले देखाएका छन्। डेमोक्र्याट सांसदहरूले युद्धको बढ्दो खर्चलाई महँगी र जनजीवनसँग जोडेर ट्रम्प प्रशासनमाथि दबाब बढाइरहेका छन्।
संसदीय विनियोजन समितिकी शीर्ष डेमोक्र्याट सिनेटर प्याटी मरेले सुनुवाइमा भनिन्, 'राष्ट्रपतिले युद्धको विस्तार र युद्ध अपराधको धम्की दिइरहेका छन्। यो अर्को अन्त्यहीन युद्ध बन्न सक्ने संकेत देखिएको छ।'
डेमोक्र्याट सिनेटर किर्स्टन गिलिब्रान्डले पनि ट्रम्प प्रशासनले युद्धबारे स्पष्ट जानकारी नदिएको आरोप लगाइन्।
'युद्ध सकिएको हो कि होइन? दुई हप्तामा टुंगिने हो कि होइन? मिसाइल प्रहार भइरहेको हो कि होइन? जनताले यिनै प्रश्नको उत्तर खोजिरहेका छन्,' उनले भनिन्।
रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदहरूले ट्रम्प प्रशासनले युद्धको योजना र अवस्थाबारे पर्याप्त जानकारी नदिएको गुनासो गर्दै आएका छन्।
पेन्टागनको बजेटमा दबाब
हेगसेथले तत्काल अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
उनले सन् २०२७ का लागि प्रस्ताव गरिएको १५ खर्ब डलर पनि स्वीकृत दिन आग्रह गरे।
नौसेना, थल सेना र हवाई सेनाका संयुक्त चिफ अफ स्टाफ जनरल डान केनले पनि सैनिकहरूको तलब व्यवस्थापन नभए मर्मतसम्भार र भविष्यका सैन्य क्षमतामा लगानी गर्न कठिनाइ हुने बताए।
अमेरिका र इरानबीच यसअघि भएको कमजोर युद्धविराम यही महिनाको सुरुमै भंग भएको थियो। त्यसयता दुवै पक्षले दैनिक रूपमा एकअर्कामाथि आक्रमण गरिरहेका छन्।
सप्ताहन्तमा इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको पेन्टागनले जनाएको छ।
करिब ४३० अमेरिकी सैनिक घाइते भएका छन्। जुलाई ७ यता घाइते भएका १०० सैनिकमध्ये ९६ प्रतिशत पुनः सेवामा फर्किएको पेन्टागनले सोमबार जानकारी दिएको थियो।
गत साता ट्रम्पले इरानका ऊर्जा संयन्त्र, पुल, खार्ग तेल केन्द्र र ‘पिक्याक्स माउन्टेन’ भनिने भूमिगत आणविक केन्द्रलाई लक्ष्य बनाउने धम्की दिएका थिए।
मंगलबार उनले उक्त पहाडी आणविक केन्द्र चाँडै ध्वस्त पारिने बताएका छन्।