इरानले मध्यपूर्वका विभिन्न स्थानमा रहेका अमेरिकी गुप्तचर संस्था सिआइएको केन्द्रहरूमा गरेको हमलामा रूसले सहयोग गरेको हुन सक्ने आशंका गरिएको छ।
सिआइए केन्द्रहरूमा भएको हमलामा इरानलाई रूसले खुफिया र लक्ष्य निर्धारणसम्बन्धी जानकारी र उन्नत किसिमको ड्रोन प्रविधि नै उपलब्ध गराएको हुन सक्ने भनेर अमेरिकी अधिकारीहरुले अनुसन्धान थालेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमलाको सटिकताका कारण अमेरिकी अधिकारीहरूले रूसी भूमिका हुन सक्ने भनेर अनुसन्धान थालेका हुन्।
गत मार्च महिनामा कम्तीमा दुई स्थानमा रहेका सीआईएका गोप्य केन्द्रहरूमा आक्रमण भएको बताइएको छ। तीमध्ये एउटा साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र र अर्को केन्द्र इराकको पूर्वी क्षेत्रमा रहेको स्रोतहरूले बताएका छन्।
सिआइएका अरू केन्द्रहरू पनि निशानामा परेको तर ती स्थानहरूको विवरण सार्वजनिक नगरिएको रोयटर्सले जनाएको छ। इरानी हमलामा दर्जन हाराहारी सिआइए केन्द्रहरू परेको हुनसक्ने आकलन छ।
साउदी अरबको रियादस्थित दूतावासमा भएको हमलामा इरानको शाहिद ड्रोन प्रयोग भएको थियो। सो ड्रोनलाई रूसी प्रविधिबाट उन्नत बनाइएको भेटिएको थियो।
त्यतिबेला आक्रमण पनि सटिक थियो। एउटा ड्रोनले दूतावास भवनको बाहिरी भागमा प्वाल पारेको र दोस्रो ड्रोन त्यही प्वालबाट भित्र प्रवेश गरी विस्फोट भएको अधिकारीहरूले बताएका छन्।
घटनामा कुनै मानवीय क्षति भने भएन।
रोयटर्ससँग कुरा गरेका अर्का स्रोतका अनुसार रुसले इरानलाई शाहिद–१३६ ड्रोनको सटीकता बढाउन ‘कमेटा–एम’ नामक नेभिगेसन प्रणाली उपलब्ध गराएको छ।
विज्ञहरूका अनुसार यो प्रणाली इरानले आफैं उत्पादन गर्ने प्रणालीभन्दा बढी सटीक र जाम गर्न कठिन मानिन्छ।
अमेरिकी विश्लेषकहरूले रियादस्थित दूतावासमाथिको आक्रमणमा इरानले रुसबाट प्राप्त लक्ष्य निर्धारण सूचना प्रयोग गरेको थियो कि भनेर पनि अनुसन्धान गरिरहेका छन्।
यद्यपि केही स्रोतहरूले इरानको वास्तविक लक्ष्य अमेरिकी दूतावास नै हुनसक्ने र संयोगवश सीआईए स्टेशनमा क्षति पुगेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।
ह्वाइट हाउस र सिआइएले भने रोयटर्ससँग यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
पूर्व सिआइए स्टेशन प्रमुख डेनियल होफम्यानले रुस र इरानबीचको रणनीतिक साझेदारीलाई हेर्दा मस्कोले तेहरानलाई सीआईए केन्द्रहरूमा हमला गर्न सहयोग गरेको भए अचम्म मान्नु नपर्ने बताएका छन्।
'उनीहरूको साझा उद्देश्य अमेरिकाको प्रभावलाई आफ्नो प्रभाव क्षेत्रमा घटाउनु वा समाप्त गर्नु हो। त्यसकारण उनीहरूले रणनीतिक साझेदारी गरेका छन् भने पनि अचम्म मान्नु पर्दैन,' उनले भने।