दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी)ले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ।
सोमबारदेखि सुरू भएको प्रदर्शनमा बिहीबार पनि बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
आन्दोलन स्थल जन्तर मन्तरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
आन्दोलन चर्किँदै गएपछि बुधबार नै पश्चिम बंगालबाट २० कम्पनी प्रहरी बल पश्चिम बंगालबाट बोलाइएको थियो।
दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट र सुप्रिम कोर्टसहित १६ स्टेशन बिहान ७:३० बजेदेखि अर्को सूचना नभएसम्म बन्द रहने जनाएको छ।
यी स्टेशन बुधबार पनि बन्द गरिएका थिए।
बुधबार आन्दोलनकारी र प्रहरीबीच संसद मार्ग क्षेत्रमा झडप भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो।
दिल्ली प्रहरीले झडपमा दुई एसीपी, एक इन्स्पेक्टर, एक हेड कन्स्टेबल र एक कन्स्टेबल गरी पाँच जना प्रहरी घाइते भएको जनाएको छ।
सिजेपीले बिहीबार आन्दोलनस्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ।
पार्टीले सामाजिक सञ्जाल एक्समा कारका झ्याल र सिसा फुटेको दृश्य सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनकारीमाथि दोष लगाउने तयारी रहेको बताएका छन्।
बुधबार जन्तरमन्तर क्षेत्रमा आन्दोलन अधिकांश समय शान्तिपूर्ण रहे पनि संसद मार्गमा तनाव चर्किएको थियो। प्रदर्शनकारीहरू संसद मार्गतर्फ पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
सिजेपीले आन्दोलनस्थल आसपास इन्टरनेट सेवा बन्द गरिएको आरोप पनि लगाएको छ। पार्टी संयोजक अभिजीत दिप्केले सरकार अर्को दमनकारी कारबाहीको तयारीमा रहेको हो कि भनेर प्रश्न उठाएका छन्।
सिजेपीका प्रवक्ता सौरभ दासले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आन्दोलनको मुख्य माग भएको र यो माग कुनै हालतमा नत्यागिने बताएका छन्।
उनले जलवायु अभियन्ता सोनम वाङचुकसँग लगातार संवाद भइरहेको र आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउने निष्कर्षमा पुगेको जानकारी दिए।
वाङचुकले बुधबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले आफूलाई भेटेर नीट प्रश्नपत्र लिक प्रकरणमा संसदमा छलफल गर्ने विषयमा सरकार सकारात्मक रहेको आश्वासन दिएको बताएका छन्।
उनले आन्दोलनमा सहभागी विद्यार्थी वा प्रदर्शनकारीमाथि कुनै कानुनी कारबाही नहुने स्पष्ट आश्वासन पाएपछि मात्र आफ्नो अनिश्चितकालीन अनशन तोड्ने बताएका छन्।
उता विपक्षी दलहरूले शिक्षा मन्त्री प्रधानको राजीनामाविना संसदमा प्रश्नपत्र लिकबारे निष्पक्ष छलफल हुन नसक्ने अडान राखेका छन्। कांग्रेस अध्यक्ष तथा राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेले शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म यस विषयमा छलफल हुन नसक्ने बताएका छन्।