घुँडा हाम्रो शरीरको ठूला जोर्नीमध्ये एक प्रमुख जोर्नी हो। हाम्रो शरीरको सम्पूर्ण तौल अन्ततः घुँडामै केन्द्रित हुन्छ।
दक्षिण एसियाली मुलुकहरूमा भुइँमा बसेर काम गर्ने चलन धेरै छ। भुइँमा बसेर खाने, थुचुक्क बस्ने शौचालय प्रयोग गर्ने, खेतबारीमा भुइँमै केन्द्रित भएर काम गर्ने जस्ता कारणले घुँडामा धेरै दबाब पर्छ।
त्यसैले पश्चिमी मुलुकका मानिसहरूको तुलनामा हाम्रो समाजमा घुँडाको जोर्नी खिइने समस्या बढी देखिन्छ। हामीले घुँडा धेरै खुम्च्याएर काम गर्ने भएकाले पनि यो समस्या बढ्छ।
तुलनात्मक रूपमा पुरूषभन्दा महिलाको घुँडाको जोर्नी धेरै खिइन्छ। यसको एउटा कारण महिलाको उचाइ तुलनात्मक रूपमा कम हुनु र शरीरको भार घुँडामा बढी केन्द्रित हुनु हो। साथै, महिनावारी रोकिएपछि महिलामा घुँडाको जोर्नी खिइने समस्या अझ बढी देखिन्छ।
घुँडाको जोर्नी खिइँदै गएको कसरी थाहा हुन्छ?
यसका लक्षण चरणबद्ध रूपमा देखा पर्छन्।
कतिपय व्यक्तिमा ३०–३५ वर्षको उमेरपछि नै घुँडाभित्र बिस्तारै खिइने प्रक्रिया सुरू हुन्छ। सुरूआती चरणमा यसको कुनै स्पष्ट संकेत देखिँदैन।
घुँडाको भित्री भागबाट खिइन सुरू हुने भएकाले भर्याङ चढ्दा अप्ठ्यारो हुने, दुखाइ हुने, बस्दा–उठ्दा हल्का पीडा महसुस हुने जस्ता लक्षण देखिन सक्छन्।
यो समस्या कहिले हुने, कहिले कम हुने गर्दै अघि बढ्छ। खिइने प्रक्रिया क्रमशः बढ्दै जाँदा अन्तिम अवस्थामा घुँडामा टेढोपन देखिन थाल्छ।
दुवै खुट्टा जोड्न खोज्दा घुँडा टेढो देखिन सक्छ। त्यस अवस्थामा सामान्य हिँडडुल गर्न पनि गाह्रो हुन्छ। हरेक पाइला चाल्न कठिन हुने, भर्याङ उक्लिन–ओर्लिन निकै कष्ट हुने, बस्न गाह्रो हुने र बसेर उठ्न झन् कठिन हुने अवस्था आउँछ।
घुँडा सुन्निने, रातो हुनेजस्ता समस्या पनि देखिन सक्छन्।
उपचार के हो?
घुँडाको जोर्नी एक पटक खिइसकेपछि त्यसलाई फेरि पहिलाकै अवस्थामा फर्काउने कुनै उपाय छैन। दुखाइ भएको बेला स्वास्थ्यकर्मीको परामर्शमा औषधि सेवन गर्नुपर्छ।
फिजियोथेरापीको पनि महत्वपूर्ण भूमिका हुन्छ। सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको जीवनशैलीमा परिवर्तन ल्याउनु हो।
शरीरको तौल बढ्न दिनु हुँदैन। तौल घटाउन नसकिए पनि बढ्न नदिनु आवश्यक हुन्छ। शरीरको १ केजी तौल घटाउँदा घुँडामा पर्ने दबाब र दुखाइमा उल्लेखनीय कमी आउन सक्छ। त्यसैले तौल नियन्त्रण गर्नु अत्यन्त महत्वपूर्ण छ। नियमित व्यायाम गर्नुपर्छ।
साथै, टुक्रुक्क बस्ने, पलेँटी कसेर बस्ने जस्ता बानीबाट बच्नुपर्छ।
घुँडालाई सकेसम्म जोगाएर प्रयोग गर्नुपर्छ। समथर नभएको खाल्डाखुल्डी भएको बाटोमा हिँड्नु उपयुक्त हुँदैन। आवश्यक परे लौरो टेकेर हिँड्नु राम्रो हुन्छ।
हाम्रो समाजमा लौरो टेक्नु भनेको कमजोरीको संकेतजस्तो बुझ्ने चलन भए पनि यसले घुँडामा पर्ने भार कम गर्न मद्दत गर्छ। औषधि, फिजियोथेरापी तथा अन्य उपचारबाट पनि सुधार नभएमा अन्तिम विकल्पका रूपमा घुँडाको जोर्नी प्रत्यारोपण गरिन्छ।
घुँडा प्रत्यारोपण गरेपछि के फरक हुन्छ?
धेरै मानिस घुँडा प्रत्यारोपण गर्न डराउँछन्। शल्यक्रिया भएकाले केही जोखिम त हुन्छन् नै। धेरैको मनमा प्रत्यारोपण गरेपछि झन् समस्या बढ्छ कि भन्ने डर पनि हुन्छ। तर घुँडाको जोर्नी प्रत्यारोपण सफल शल्यक्रियामध्ये एक मानिन्छ।
यसमा सबभन्दा ठूलो जोखिम संक्रमणको हुन्छ। अर्थोपेडिक सर्जनका लागि पनि यही सबैभन्दा संवेदनशील विषय हो। त्यसैले शल्यक्रियाका प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्छ।
घुँडाको जोर्नी प्रत्यारोपण प्रायः वृद्धवृद्धामा गरिन्छ। उनीहरूमा मुटु लगायत अन्य दीर्घरोग पनि हुन सक्छन्। त्यसैले अनुभवी चिकित्सकहरूको टोलीले उपचार गर्दा जोखिम कम हुन्छ।
घुँडाको जोर्नी प्रत्यारोपण भनेको अर्को व्यक्तिको घुँडा ल्याएर राख्ने होइन। खिइएको कार्टिलेजको सतह हटाएर त्यसको स्थानमा कृत्रिम धातु तथा विशेष सामग्रीबाट बनेको क्याप राखिन्छ। त्यसले घुँडाको जोर्नीलाई सुरक्षित राख्दै सहज रूपमा चल्न मद्दत गर्छ।
घुँडा प्रत्यारोपणपछि बिरामीले धेरैजसो दैनिक गतिविधि सहज रूपमा गर्न सक्छन्। तर सकेसम्म घुँडा धेरै खुम्च्याउने गतिविधिमा सावधानी अपनाउनुपर्छ, किनकि प्रत्यारोपित जोर्नी प्राकृतिक जोर्नीजस्तै पूर्ण रूपमा हुँदैन।
घुँडा प्रत्यारोपण गरेका बिरामी विशेष गरी लड्नबाट जोगिनुपर्छ। लड्दा प्रत्यारोपित घुँडामा चोट लागेमा समस्या हुन सक्छ।
सामान्यतया शल्यक्रियापछि करिब ६ महिनामा अधिकांश बिरामीले घुँडा प्रत्यारोपण भएको अनुभूति नै बिर्सिने गरी सामान्य जीवनमा फर्किसकेका हुन्छन्, किनकि उनीहरूको हिँडडुल र दैनिक जीवन निकै सहज भइसकेको हुन्छ।
(हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. रन्जन कुमार झा नेपाल मेडिसिटी र वयोधा हस्पिटलमा कार्यरत छन्।)