पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० आरोहीको खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ।
पाकिस्तानी सेनाका दुईवटा हेलिकप्टर शनिबार बिहान उद्धारकर्मी र विशेष उपकरणसहित घटनास्थलतर्फ पठाइएको बिबिसीले जनाएको छ।
पाकिस्तानको अल्पाइन क्लबले सेनाको हेलिकप्टरले स्थलमार्गबाट भइरहेको खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको जनाएको छ।
उच्च हिमाली क्षेत्रमा उद्धार कार्य निकै कठिन भएकाले अतिरिक्त जनशक्ति र विशेष उपकरण परिचालन गरिएको क्लबले जनाएको छ।
कराकोरम क्षेत्रमा रहेका अन्य हिमालका आरोही पनि उद्धार अभियानमा खटिएका छन्। के–टु के–थ्री मा रहेका आरोहीहरू आफ्नो शिविरबाट तल झरेर खोजी अभियानमा सहभागी भइरहेको बताएका छन्।
बिबिसीका अनुसार व्यवसायिक आरोहण कम्पनी इम्याजिन नेपालका सदस्यहरू पनि उद्धारमा खटिएका छन्।
८ हजार ४७ मिटर अग्लो ब्रोड पिक कराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो। यो पर्वत कठिन आरोहणका लागि परिचित छ। यही हिमालमा शुक्रबार हिमपहिरो गएपछि निर्मल पुर्जाको टोली सम्पर्कविहीन भएको हो।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। ती १४ हिमालमध्ये ब्रोड पिक पनि एक हो।
पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पनि बेपत्ता आरोहीहरूको खोजीका लागि दूतावासमार्फत पाकिस्तान सरकारसँग समन्वय भइरहेको बताएको छ।
को-को हुन् बेपत्ता भएका १० जना
नधिरा अहमद अब्दुल्लाह अल हार्थी- ओमान
सोहेल साखी- पाकिस्तान
वाङ जोङ- चीन
मालोरी गाइस- अमेरिका
निर्मल पुर्जा ‘निम्स दाई’- नेपाल
पुरबहादुर गुरुङ ‘युक्ता’- नेपाल
किली पेम्बा शेर्पा ‘किलु’- नेपाल
निमा शेर्पा- नेपाल
नवाङ थिन्डु शेर्पा- नेपाल
ग्यालु शेर्पा- नेपाल