मधेस र कोशी प्रदेशमा भइरहेका पछिल्ला घटनाक्रमलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहित अन्य अधिकृतहरूलाई खटाएको छ।
शुक्रबार विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनका लागि चार जना एआइजी, दुई जना डिआइजी र ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई खटाएको केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
‘सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषणका लागि परिचालन गरिएको हो,’ उनले भने।
बाँकेमा एआइजी शिद्धिबिक्रम शाह, मधेसमा एआइजी हिमालयकुमार श्रेष्ठ, कपिलवस्तुमा उमाप्रसाद चतुर्वेदी र कोशी/सुनसरीमा एआइजी इश्वरप्रसाद कार्कीलाई परिचालन गरिएको छ।
डिआइजी दिनेशकुमार आचार्यलाई सिरहा र डिआइजी काफ्लेलाई सप्तरीमा खटाइएको छ।
यसैगरी एसएसपीहरू गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेस प्रदेशमा खटाएको हो।
डिआइजी काफ्लेले उच्च अधिकृतहरू आवश्यकतानुसार फिल्डमा खटिएर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्ने, परिस्थितिलाई काबू बाहिर जान नदिएर समयमै स्थितिको सामान्यीकरण गर्ने गरी खटिएका छन्।
फिल्डमा भएका विवरणहरूलाई आवश्यकता अनुसार आइजिपी दानबहादुर कार्कीलाई जानकारी दिन निर्देशन दिइएको छ।
सशस्त्र प्रहरी बलले पनि एआइजी गणेश ठाडामगरलाई परिचालन गरेको छ।