सरकारले कक्षा १२ को नतिजा हतारमा प्रकाशन गर्दा लापरबाही भएको भन्दै आलोचना भइरहेका बेला पुनर्योग (रि-टोटलिङ) गराएका ७४६ जना विद्यार्थीको ग्रेड बढेको पाइएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३३ हजारभन्दा बढी परीक्षार्थीले रि-टोटलिङका लागि आवेदन दिएकामा ७४६ जनाको अंक र ग्रेड सच्याइएको हो।
बोर्डकी सहसचिव तथा प्रवक्ता जयन्ती सत्यालका अनुसार सुरूमा 'नन-ग्रेड' (एनजी) पाएर अनुत्तीर्ण सूचीमा परेका तर रि-टोटलिङपछि न्यूनतम ग्रेड प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीको संख्या उल्लेख्य छ। कतिपय पहिले नै पास भइसकेका परीक्षार्थीको पनि अंक र ग्रेड वृद्धि भएको छ।
'रि-टोटलिङमा पनि चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षणका लागि आवेदन दिने व्यवस्था छ। त्यसका लागि साउन २६ गतेसम्म म्याद तोकिएको छ,' प्रवक्ता सत्यालले सेतोपाटीसँग भनिन्, 'पुनः परीक्षण क्रममा विद्यार्थी र सोही विषयका शिक्षकलाई सँगै राखेर उत्तरपुस्तिका जाँच गराइन्छ।'
यस वर्ष बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा सकिएको ४० दिनभित्रै नतिजा सार्वजनिक गरेर विगतको तुलनामा नयाँ कीर्तिमान कायम गरेको थियो।
विगतमा नतिजाका लागि महिनौं कुर्नुपर्ने बाध्यताका कारण विद्यार्थीको वैदेशिक अध्ययन र स्वदेशकै स्नातक तहको भर्ना तालिका प्रभावित हुने गरेको थियो। त्यही समस्याबाट मुक्ति दिन रातदिन काम गरेर द्रुत गतिमा नतिजा प्रकाशन गरिएको बोर्डको दाबी छ।
समयमै नतिजा आउँदा उच्च शिक्षाको तयारीमा रहेका हजारौं विद्यार्थीका लागि शैक्षिक सत्र सहज त बन्यो, तर नतिजा लगत्तै असन्तुष्टि र आक्रोशका स्वर पनि तीव्र रूपमा सुनिए।
आफूले सोचेजस्तो नतिजा नआएको र अनुमानभन्दा निकै कम अंक प्राप्त भएको भन्दै असन्तुष्ट विद्यार्थीहरू प्रदर्शनमै ओर्लिए।
सामाजिक सञ्जालमा मात्र नभई काठमाडौंको माइतीघर मण्डलमा समेत विरोध प्रदर्शन भयो। उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरिएको, राम्रोसँग नजाँची मनपरी अंक दिइएको र हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको आरोप विद्यार्थीहरूले लगाए।
छिटो नतिजा निकाल्दा लापरबाही भएको आरोप लागे पनि तथ्यांकले भने अघिल्ला वर्षको तुलनामा यसपालि रि-टोटलिङ माग्नेको संख्या घटेको देखाउँछ।
गत वर्ष कक्षा १२ को नतिजापछि ४० हजार २९२ वटा निवेदन परेकामा रि-टोटलिङपछि ८४४ जनाको नतिजा फेरबदल भएको थियो।
अघिल्ला वर्षहरूमा पनि ३० हजारदेखि ४० हजारसम्म आवेदन आउने र ५ सयदेखि १ हजार जनासम्मको नतिजा फेरबदल हुने गरेको प्रवक्ता सत्याल बताउँछिन्।
यसअघि आन्दोलन चर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको स्पष्टीकरण दिएका थिए।
मन्त्री पोखरेलले शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमूना परीक्षण तथा प्राप्तांक र डेटा इन्ट्री प्रमाणीकरणका लागि समिति गठन गरिएको जानकारी दिएका थिए।
यता विद्यार्थीहरूले भने आफूले परीक्षा राम्रो दिए पनि परिणाम निराशाजनक आएकाले केवल रि-टोटलिङ मात्र नभई निःशुल्क उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
बोर्डले भने रि-टोटलिङको नतिजापछि पनि असन्तुष्ट रहेका विद्यार्थीका लागि सिधै आफ्नो उत्तरपुस्तिका हेर्न पाउने बाटो खुला राखिदिएको छ।
'नियम अनुसार आवेदन दिएका परीक्षार्थीलाई बोर्डले सम्बन्धित विषयविज्ञ (शिक्षक/प्राध्यापक) को प्रत्यक्ष उपस्थितिमा मूल उत्तरपुस्तिका देखाउने प्रबन्ध मिलाउँछ,' सत्यालले भनिन्, 'कपी देखाउने क्रममा विज्ञले विद्यार्थी र अभिभावकलाई सँगै राखेर कुन प्रश्नको उत्तर कसरी लेखिनुपर्थ्यो र परीक्षार्थीको उत्तरमा कहाँ के त्रुटि भयो भनेर प्राविधिक रूपमा स्पष्ट पारिदिन्छन्।'
विज्ञको सूक्ष्म विश्लेषणपछि अधिकांश विद्यार्थीले आफ्नो वास्तविक लेखाइको स्तर र प्राप्त अंकको औचित्य बुझ्ने बोर्डको अनुभव छ।
तर स्पष्टीकरणपछि पनि मूल्यांकनमा विभेद वा पक्षपात भएको लागेमा तीन जना फरक फरक विषयविज्ञको तटस्थ टोली गठन गरी 'पुनःजाँच' (रि-चेक) गराउने कानुनी व्यवस्था रहेको उनले बताइन्।
'धेरैजसो विद्यार्थी रि-टोटलिङको काउन्सिलिङपछि शान्त हुन्छन्। कतिपय त अभिभावकको डरले मात्र बोर्डसम्म आइपुगेका हुन्छन्,' सत्यालले थपिन्।