रुपन्देहीमा प्रहरीले भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारत महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउ साहेब ब्राह्मण पक्राउ परेका हुन्।
उनीहरूलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
उनका अनुसार बिहीबार राती ९ बजेतिर भारतीय नक्कली नोटको कारोबार भइरहेको विशेष सूचना प्राप्त भयो। सोही सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो।
'उनीहरूको साथबाट ५ सय दरका १४० थान नक्कली भारतीय नोट, दुई थान मोबाइल र दुई थान भारतीय आधार कार्ड बरामद गरिएको छ,' उनले भने।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको उनले बताए।