पायल्सलाई हामी नेपालीमा 'बाबासिर' पनि भन्छौं। दिसा आउने बाटो एनल क्यानलमा एनल कुशन (गद्दाजस्तो संरचना) हुन्छ। एनल कुशन तीन वटा हुन्छन्। त्यहाँ रक्तनली, विभिन्न तन्तु र मांसपेशी मिलेर एनल कुशन बनेको हुन्छ। कुनै कारणले एनल कुशन सुन्नियो भने त्यसलाई नै पायल्स भनिन्छ।
जनावरहरूमा प्रायः पायल्स हुँदैन। पायल्स हुनुमा हाम्रो पोस्चर (बस्ने तरिका) को पनि भूमिका हुन्छ। जसले गर्दा रक्तनलीहरू तलतिर तानिन्छन्। एनल कुशनमा रहेका रक्तनलीहरू सुन्निनु र सुन्निएको ठाउँबाट साह्रो दिसा पास हुँदा एनल कुशनमा चोट लाग्नु यसको मुख्य कारण हो। चोट लागेको एनल कुशन तल झर्नुलाई नै पायल्स भनिन्छ। साह्रो दिसाका कारण सुन्निएको र चोट लागेको नलीबाट रगत बग्न सक्छ।
दिसा गर्ने ठाउँबाट रगत आयो, चिलायो, रसिलो सेतो पदार्थ आयो भनेर बिरामीहरू आउने गर्छन्। दिसा गर्ने ठाउँबाट रगत आउनु, रगतको डल्लो निस्किनु, सेतो पानी आउनु र चिलाउनु पायल्सका लक्षणहरू हुन्। तर रगत आउँदैमा पायल्स नै हो भन्ने हुँदैन। यसका अन्य कारणहरू पनि हुन सक्छन्।
धेरैजसो बिरामी आउँदा हामीलाई ‘म पायल्सको उपचारका लागि आएको हुँ’ भन्नुहुन्छ। समस्या के छ भनेर सोध्दा पनि ‘मलाई पायल्स छ’ भन्नुहुन्छ। दिसा गरेपछि पनि थोपा–थोपा रगत चुहिने हुन्छ। यसलाई हामी ‘पेनलेस ब्लिडिङ’ भन्छौँ। सबैमा हुन्छ भन्ने हुँदैन, तर धेरैजसो पायल्समा दुखाइबिनाको रक्तस्राव (पेनलेस ब्लिडिङ) हुने गर्छ।
पायल्सलाई हामीले विभिन्न ग्रेडमा विभाजन गरेका छौँ। सुरूआती अवस्थादेखि जटिल अवस्थासम्म यसलाई वर्गीकरण गरिएको छ। पायल्स दुई किसिमका हुन्छन्– इन्टरनल हेमोराइड र एक्सटर्नल हेमोराइड।
दिसा गर्ने ठाउँमा डेन्टेट लाइन भन्ने हुन्छ। त्यसभन्दा माथिका रक्तनली र एनल कुशन सुन्निएको अवस्थालाई इन्टरनल हेमोराइड भनिन्छ। डेन्टेट लाइनभन्दा तलका एनल कुशन र रक्तनलीहरू सुन्निएर गुजुल्टिएको अवस्थालाई एक्सटर्नल हेमोराइड भनिन्छ।
इन्टरनल हेमोराइडलाई पनि ग्रेड वानदेखि ग्रेड फोरसम्म विभाजन गरिएको छ।
ग्रेड वानमा एनल कुशन सुन्निएको हुन्छ तर बाहिर आउँदैन।
ग्रेड टुमा एनल कुशन सुन्निएर दिसा गर्दा बाहिर निस्कन्छ, तर दिसा गरिसकेपछि आफै भित्र जान्छ।
ग्रेड थ्रीमा दिसा गर्दा बाहिर निस्कन्छ र आफै भित्र जाँदैन। औंलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ।
ग्रेड फोरमा बाहिर आएर बाहिर नै बसिरहन्छ र धकेलेर पनि भित्र जाँदैन।
पायल्सको उपचार पनि रोगको चरणअनुसार गरिन्छ। रोग कुन अवस्थामा पुगेको छ भन्ने आधारमा उपचार विधि छनोट गरिन्छ। आवश्यकताअनुसार औषधि तथा रबर ब्यान्डिङ गरिन्छ।
यदि यी प्रक्रियाबाट पनि सम्भव भएन भने लेजर प्रविधिबाट उपचार गर्न सकिन्छ। लेजर प्रविधिको फाइदा भनेको चिर्न नपर्ने र ठूलो घाउ नहुने हो।
अर्को चिरेर गर्ने अपरेसन हुन्छ। सुन्निएको एनल कुशनमध्ये एउटा वा आवश्यकताअनुसार दुई वटा निकालिन्छ। अपरेसन गर्दा अस्पतालमा धेरै समय बस्नुपर्ने, रगत बग्ने लगायतका समस्या हुन सक्छन्। बिरामीको अवस्था सुधार हुन पनि केही समय लाग्न सक्छ।
अर्को उपचार विधि स्टेपलर हेमोराइडोपेक्सी हो। यसको नतिजा पनि राम्रो मानिन्छ। यसको फाइदा भनेको बाहिर घाउ नहुने, अस्पतालमा धेरै समय बस्न नपर्ने र कस्मेटिक रूपमा पनि राम्रो देखिनु हो। तेस्रो र चौथो चरणको पायल्समा यो प्रविधि उपयोगी मानिन्छ।
जुनसुकै तरिकाले उपचार गरे पनि बिरामीले सावधानी अपनाउनै पर्छ। किनकि जति राम्रो हेरचाह गर्यो, त्यति नै लामो समयसम्म पायल्स दोहोरिनबाट रोक्न सकिन्छ।
नेपालमा जनचेतनाको कमीका कारण धेरै बिरामी ढिलो अस्पताल पुग्छन्। अर्को कुरा, पायल्स दिसा गर्ने ठाउँमा हुने भएकाले लाजका कारण पनि धेरैले चिकित्सककहाँ गएर परीक्षण गराउँदैनन्।
सुरूआती अवस्थामा थाहा पाउन सके औषधिबाटै नियन्त्रण गर्न सकिन्छ। तर अब केही उपाय छैन भन्ने अवस्थामा पुगेपछि मात्र धेरै बिरामी चिकित्सककहाँ पुग्ने गर्छन्।
पायल्सबाट जोगिन फाइबरयुक्त खाना खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। जाँड, रक्सी, चुरोटले पनि समस्या बल्झाउन सक्छ। त्यस्तै क्याफिनको प्रयोग पनि कम गर्नु राम्रो हुन्छ।