रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ।
युक्रेनको राजधानी किभमा रहेको सुरक्षा सेवा (एसबीयू)को मुख्यालयमै रूसले शुक्रबार ड्रोन हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
युद्ध सुरु भएयता पहिलोपटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो।
शुक्रबार दिउँसै भएको उक्त आक्रमणमा १२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
घटनापछि आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ड्रोन एसबीयू प्रमुख ओलेक्जान्दर पोक्लादको कार्यालयलाई नै लक्षित गरेर प्रहार गरिएको बताएका छन्।
एसबीयूले भने पोक्लाद सुरक्षित रहेको र उनी घाइते नभएको जनाएको छ।
जेलेन्स्कीले रुसविरुद्ध जवाफी कारबाही गर्ने संकेतसमेत दिएका छन्।
'मैले पोक्लादलाई उपयुक्त र प्रभावकारी जवाफ दिन निर्देशन दिएको छु। सम्भव भएसम्म रुसी पक्षलाई यही प्रहारको प्रतिरूप हुने गरी जवाफ दिनेछौँ। सबै तयारी पूरा भएपछि हाम्रो सेनाले त्यसलाई सहयोग गर्नेछ,' उनले भने।
किभमा पछिल्ला आठ दिनदेखि रुसी हवाई आक्रमण निरन्तरजस्तै भइरहेको छ।
राजधानीको मध्यभागका विभिन्न भवनसँगै बाहिरी क्षेत्रमा रहेका गोदाम र कारखानाहरूलाई समेत निशाना बनाइएको छ।
आक्रमणमा कोकाकोला उत्पादन गर्ने एउटा कारखानासमेत प्रभावित भएको बताइएको छ।
गत महिनादेखि जारी लगभग निरन्तर हवाई आक्रमणका कारण किभ सहर र वरपरको क्षेत्रमा कम्तीमा ५३ जनाको मृत्यु भएको तथा १३४ जना घाइते भएका छन्।
तर एसबीयूको मुख्यालयमा भएको प्रहारलाई युद्धमा महत्वपूर्ण थप विस्तारका रूपमा हेरिएको छ। यसले रुसी आक्रमण रोक्न युक्रेनको हवाई प्रतिरक्षा क्षमतामाथि परेको दबाबलाई पनि उजागर गरेको छ।
युक्रेन अहिले रुसी ड्रोन र क्षेप्यास्त्र खसाल्न आवश्यक इन्टरसेप्टर मिसाइलको गम्भीर अभावसँग जुधिरहेको छ।
पछिल्ला केही दिनका अधिकांश आक्रमण जेट इन्जिनबाट चल्ने ड्रोनबाट भएको बताइएको छ।
यस्ता ड्रोन प्रतिघन्टा ५०० किलोमिटर (३१० माइल) सम्मको गतिमा उड्न सक्ने भएकाले युक्रेनी हवाई प्रतिरक्षाका लागि चुनौतीपूर्ण बनेका छन्।
तिनलाई रोक्न जमिनबाट प्रहार गर्ने हवाई प्रतिरक्षा मिसाइल वा लडाकु विमान आवश्यक पर्छ। अहिले दुवै युक्रेनसँग सीमित मात्रामा छन्।
रुसले युद्ध सुरु भएदेखि नै युक्रेनका सरकारी तथा सुरक्षा निकायका भवनहरूलाई लक्षित गर्दै आएको छ।
किभमा भएका विगतका ठूला हवाई आक्रमणमा केही सरकारी भवनहरू प्रभावित भए पनि यति महत्वपूर्ण सुरक्षा संरचनामाथि दिउँसै प्रत्यक्ष प्रहार भएको यो पहिलो घटना भएको बताइएको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले आक्रमणको कडा जवाफ दिनुपर्ने बताएका छन्। उनले यो आक्रमणलाई दृढ जबाफ माग्ने घटना भएको बताए।
'शान्तिका लागि नयाँ प्रयास भइरहेका बेला मस्कोले यो आक्रमण गरेको छ। यसले कूटनीतिप्रतिको उसको वास्तविक अस्वीकारलाई स्पष्ट पारेको छ,' उनले भनेका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर आगामी दिनमा मस्को र किभ भ्रमणको तयारी गरिरहेका बेला रुसले यस्तो आक्रमण गरेको उल्लेख गरे।
सिबिहाले अन्तर्राष्ट्रिय साझेदारहरूलाई घटनाको स्पष्ट रूपमा निन्दा गर्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारमाथि थप दबाब बढाउन आग्रह गरेका छन्।
एसबीयू युक्रेनको आन्तरिक सुरक्षा निकाय हो, जसलाई अमेरिकाको एफबीआई वा बेलायतको एमआई५सँग तुलना गर्न सकिन्छ। युक्रेनको भूभागमा भएका रुसी अपराधको अनुसन्धानलगायत आन्तरिक सुरक्षा र प्रतिउत्तरसम्बन्धी काममा यसको महत्वपूर्ण भूमिका छ।
एसबीयूको मुख्यालय ऐतिहासिक किभको केन्द्रमै रहेको छ। भवनको ठीक अगाडि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको सेन्ट सोफिया क्याथेड्रल छ भने नजिकै गोल्डेन गेट र नेसनल ओपेरा पनि रहेका छन्।
त्यसैले मुख्यालयमाथिको ड्रोन प्रहारले युक्रेनको सुरक्षा संरचनामाथि मात्र नभई राजधानीको ऐतिहासिक तथा अत्यन्त संवेदनशील केन्द्रमै रुसले प्रहार गर्न सक्ने अवस्था देखाएको छ।