भोटेकोशी उर्लिएको दिनदेखि गोविन्द अधिकारीको घरमा फोन बज्न छाडेको थियो।
फोनको घन्टी बज्थ्यो, तर उनको थिएन।
रसुवाको टिमुरे भन्सारमा सवारी चालक अधिकारी बाढी आएको दिनदेखि सम्पर्कविहीन थिए।
सुरूका केही दिन परिवारले उनलाई खोजिरह्यो। कतै भेटिन्छन् कि भन्ने आशा थियो। गोविन्दका छोरा विनय बुबा खोज्न रसुवासम्म पुगेका थिए। तर गोविन्द भेटिएनन्। दसौं दिनसम्म पनि उनको कुनै खबर आएन।
त्यसपछि परिवारले एउटा यस्तो निर्णय गर्यो, जुन गर्न उनीहरू तयार थिएनन्। गोविन्दको शव थिएन। उनको अन्तिम अनुहार हेर्न पाउने अवस्था थिएन। शरीरलाई काँधमा राखेर घाटसम्म पुर्याउने सम्भावना पनि थिएन।
त्यसैले परिवारले कुशबाट उनको प्रतिमा बनायो। शुक्रबार त्यही कुशको प्रतिमालाई शव मानेर पोखराको रामघाट लगियो। सेती नदीको किनारमा उनका छोरा विनयले दागबत्ती दिए।
गोविन्दको अन्तिम संस्कार भयो।
तर उनको मृत्युको प्रमाणका रूपमा परिवारसँग बाँकी थियो—उनको शरीर होइन, हराएको एउटा मानिसको सम्झना।
गोविन्द पोखरा–१४ को समावेशी टोलमा बस्थे। तनहुँको मिर्लुङबाट बसाइँ सरेर उनका परिवार पोखरा आइपुगेका थिए।
घरमा हुँदा उनी प्रायः मुरली बजाउँथे। गाउँमा विवाह होस् वा व्रतबन्ध, भोजभतेर होस् वा कुनै सामाजिक काम—गोविन्द अगाडि हुन्थे। उनी जोसँग पनि सजिलै घुलमिल हुन्थे।
छिमेकी माधव बरालका लागि गोविन्द त्यस्ता मानिस थिए, जसलाई सम्झिँदा कुनै ठूलो उपलब्धि होइन, साना–साना व्यवहारहरू सम्झनामा आउँछन्।
नेपाल पत्रकार महांसघ कास्कीका अध्यक्ष समेत रहेका बरालले भने, 'उहाँ साँच्चिकै आँखामा राख्दा पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो।'
अहिले त्यही टोलमा उनको मुरली सुनिँदैन। घरको आँगन उस्तै छ। बाटो उस्तै छ। मानिसहरू उही छन्। तर गोविन्द छैनन्।
टिमुरे भन्सारमा उनको सरूवा भएको छ महिना मात्रै भएको थियो। भन्सार कार्यालय प्रमुख राजेन्द्र ढुंगानाका अनुसार गोविन्दले चलाउने गाडी बिग्रिएको थियो। उनी कार्यालयकै अरू काममा सहयोग गर्थे।
टिमुरे जान सुरूमा गोविन्दले नै रोजेका थिए। तर पुगेपछि उनलाई त्यहाँ बस्न मन लागेन। रसुवाको भौगोलिक बनोटले उनलाई असहज बनायो। वरिपरि पहाड र खोँच। बाढी वा पहिरो आए भागेर सुरक्षित ठाउँमा पुग्न पनि कठिन हुने ठाउँ।
उनी सरूवा हुन चाहन्थे। सरूवा हुन काठमाडौंसम्म पुगे। सरूवाका लागि प्रयास गरे। तर एक वर्ष नपुगी सरूवा नमिल्ने जबाफ पाए।
निराश भएर उनी फेरि टिमुरे फर्किए। घरमा भने उनको मन सधैं अडिएको थियो। त्यसैले तीज आउँदै गर्दा उनी घर फर्किने तयारीमा थिए। आमा, श्रीमती र चार दिदीबहिनीलाई उनले भिडिओ कल गरेका थिए।
भिडिओमा टिमुरे क्षेत्रको भौगोलिक अवस्था देखाउँदै भनेका थिए, 'यहाँ भोटेकोशी बगेको छ, केही भयो भने भाग्ने ठाउँ पनि छैन।'
दिदी लीलाका लागि त्यो सामान्य फोन थिएन। अहिले सम्झिँदा त्यो गोविन्दसँगको अन्तिम संवाद बनेको छ।
उनले तीजका लागि कपडा किनेको पनि देखाएका थिए।
'तीजको कोसेली भन्दै कपडा समेत किनेर ल्याएको छु भन्दै देखाउँथ्यो,' लीलाले भनिन्, 'सबलाई हसाउँथिस्, जाने बेला रूवाएर गइस्।'
मञ्जुका लागि सबभन्दा कठिन कुरा गोविन्दको मृत्यु स्वीकार्नु मात्रै होइन। उनको शव नहुनु पनि हो। श्रीमान् बिते भनेर सुन्नु एउटा कुरा हो। श्रीमानको शव देख्नु अर्को कुरा। तर मञ्जुले न श्रीमानको अन्तिम अनुहार देख्न पाइन्, न उनको शरीर छुन। उनी अझै पनि कहिलेकाहीँ झसंग हुन्छिन्।
त्यसपछि आफैलाई सम्झाउन खोज्छिन्—अब गोविन्द फर्किने छैनन्। तर मनले त्यो कुरा मान्दैन। अर्धबेहोसजस्तै अवस्थामा उनी श्रीमानले पहिले भनेका कुरा सम्झिरहन्छिन्।
'बाढी, पहिरो आए भागेर जाने ठाउँ छैन।'
गोविन्दले रसुवामा रहँदा त्यसो भन्ने गर्थे। अहिले त्यही वाक्य उनको स्मृतिमा फर्किरहन्छ।
'के दशा आइलाग्यो हामीलाई,' मञ्जु बर्बराउँछिन्, 'आखिर उहाँले जे भन्नुहुन्थ्यो, त्यही भयो।'
गोविन्दकी आमा चिनीमायाले एक मात्र छोरा गुमाएकी छन्।
तर उनका लागि छोरा अझै पूर्ण रूपमा गइसकेका छैनन्। बेपत्ता भएको खबर आएको दिनदेखि उनको निद्रा हराएको छ। आँखामा आँसु रोकिएको छैन। अब छोरा जीवित फर्किने आशा उनले मारेकी छन्।
तर आमाको मनले त्यसलाई अन्तिम सत्यका रूपमा स्वीकारिसकेको छैन। कहिलेकाहीँ उनी छोरालाई सम्झेर बिलौना गर्छिन्।
'म जाने बेलामा तँ छाडेर गइस्।'
त्यो वाक्यमा मृत्युको शोकभन्दा पनि सहारा गुमाएको पीडा बढी सुनिन्छ। एक मात्र छोरा। घरको सहारा। गाउँको सबैसँग मिल्ने मान्छे। अब उसको नाम मात्रै बाँकी छ।
शुक्रबार जब अधिकारी परिवारले कुशको प्रतिमालाई घरबाट निकाल्यो, त्यो घरबाट एउटा शव निस्किरहेको जस्तो थियो। तर त्यो गोविन्दको शरीर थिएन। कुश थियो।
परिवारले त्यसलाई गोविन्द मानेर अन्तिम संस्कार गर्यो। रामघाट पुगेपछि विनयले दागबत्ती दिए। आगो बल्यो। कुश जल्दै गयो। गोविन्दको परिवारले दस दिनदेखि बोकेर हिँडिरहेको एउटा प्रश्न पनि त्यही आगोसँगै बिस्तारै मौन भयो— गोविन्द कहाँ छन्?'
शरीर भेटिएन। परिवारले अब उनलाई मृत मानेको छ। किनभने कहिलेकाहीँ मृत्युको प्रमाण शव हुँदैन। कहिलेकाहीँ दस दिनसम्म नफर्किएको एउटा फोन, खोज्दा पनि नभेटिएको एउटा मानिस र बाढीले निलिएको एउटा ठाउँ नै परिवारलाई अन्तिम निष्कर्षसम्म पुर्याउन पर्याप्त हुन्छ।
गोविन्दको अन्तिम यात्रा त्यसैले शरीरविनै भयो। उनका लागि बनाइएको कुशको प्रतिमा सेतीमा सेलाइयो र पोखरा–१४ को समावेशी टोलमा, जहाँ कुनै समय उनको मुरली बज्थ्यो, अब सम्झना मात्र बाँकी छ।