चिलिमे जलविद्युत् आयोजनामा बाढीको १० दिन बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भइरहेको छ।
हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरूङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जानकारी दिएको छ।
'२५० मिटर लामो सुरूङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक छ। एक्स्काभेटर पुर्याउन स्याफ्रुबाट पावर हाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले आजदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ। सुरूङमार्फत एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको छ,' सचिवालयले जनाएको छ।
ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयास पनि भइरहेको जनाएको छ।
चुनौतीपूर्ण अवस्था भए पनि उद्धार प्रयास जारी राखिएको जनाएको छ।
यो आयोजनाको पावर हाउस तथा सुरूङ क्षेत्रभित्र ६ जना फसेको आशंका गरिएको छ।