गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई सरकारले राहत पठाएको छ।
यो गृहमन्त्री सुधन गुरूङको निर्वाचन क्षेत्र पनि हो।
राहत सामग्री आज हेलिकप्टरमार्फत् चुननुब्री ४ नाम्रुङमा पुर्याइएको हो।
ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा, छिरिङ वाङ्दी लामाको घर बाढीले बगाएको थियो।
उनीहरूलाई चुमनुब्री गाउँपालिकाले तत्काल राहतका लागि चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला, चिनीलगायत सामग्री आइतबार नै वितरण गरिसकेको थियो।
आज संघीय सरकारले थप राहत पठाएको हो। त्रिपाल, कम्बल, टेन्ट, म्याट्रेसलगायत सामग्री सरकारले पठाएको हो।
यहाँका बाढी पीडितलाई अस्थायी रूपमा होटलमा बास बस्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।
लेदोसहित आइतबार बिहान साढे ३ बजे आएको बाढीले ४ घर, २ पुल र १ जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो।