रुकुम पूर्वमा काठको पुलबाट खोला तर्दै गर्दा चिप्लिएर खसेका दुई जना बेपत्ता छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – ६ मयाङका ४९ वर्षीय बुद्विराज सेन र ७० वर्षीय तिर्थराज शाही साङखोलामा काठको पुल तर्ने क्रममा खुट्टा चिप्लिएर खोलामा खसेपछि बगेर बेपत्ता छन्।
खरिढुङगादेखि घर तर्फ फर्कने क्रममा उनीहरु दुई जना साङखोलामा काठको पुल तर्ने क्रममा खुट्टा चिप्लिएर खोलामा खसेपछि बगेर बेपत्ता रहेको जिल्ला प्रमुख डिएसपी खुमानन्द पाण्डेले बताए ।
आइतबार दिउँसो पौने ३ बजेतिर उनीहरु दुई जना खोलामा बगेर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रहरीलाई ३ बजेतिर खबर गरेका थिए ।
बेपत्ता सेन र शाहीको खोजी कार्यका लागि जिल्ला प्रहरी प्रमुख पाण्डेसहित विभिन्न युनिटका ३३ जना प्रहरी, नेपाली सेना चण्डीदल गण सुरक्षा गुल्मबाट सहायक सेनानी प्रदीप भण्डारीको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीको कमाण्डमा ११ जना गरी थप १८ जनाको सुरक्षाको टोली पनि दिनभर खोजीमा खटिएको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, सेना गरी ५१ जना सुरक्षाकर्मी र स्थानीयले समेत खोजी गर्दा पनि बेपत्ता दुई जना फेला परेका थिएनन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी पाण्डेका अनुसार सोमबार पनि उनीहरुको खोजी कार्य जारी छ।