राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै रुकुमबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो। तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
यो दुर्घटना गत वर्ष असोज १२ गते बिहान करिब ४ बजेतिर भएको थियो। सेतोपाटीले तत्कालीन समयमा लेखेको समाचारमा गाडीका चालक देबबहादुर बिक रहेको उल्लेख छ।
आमा र बहिनीको उपचार गर्न दाङ आउँदै थिए, साढे ३ सय मिटर तल खस्यो उनीहरू चढेको गाडी
२७ वर्षीय उनी रूकुम पूर्वको सिस्ने गाउँपालिका–७ का हुन्। गाडी दुर्घटनालगत्तै उनी फरार भएका थिए। तर केही समयपछि चालक सम्पर्कमा आएको जानकारी त्यतिबेलै सेतोपाटीले समाचार प्रकाशित गरेको थियो।
दुर्घटनासँग कुनै सम्बन्ध नभएका र घटनास्थलमा समेत नरहेका कपुरकोट–३ डाँडागाउँका ३८ वर्षीय कर्णबहादुर खड्का गाडी चालकका रूपमा ११ महिनादेखि थुनामा छन्। वास्तविक गाडी चालक बिक भने बाहिरै छन्। यहाँ ठूलो बदमासी भएको आशंका गरिएको छ। हालसम्मको प्रारम्भिक अनुसन्धानबाट त्यही तथ्य खुलेको छ।
गाडी चालक बिकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन। त्यही भएर सवारीधनी, यातायात व्यवसायी र प्रहरी अधिकारी समेतको मिलेमतोमा सवारी चालक अनुमति पत्र भएका खड्काको खोजी हुन्छ। खड्कालाई आर्थिक प्रलोभन देखाएर ‘नक्कली चालक’ खडा गरिएको तथ्य खुलेको छ। एक महिनाभित्रै छुटाउने र लाखौँ रुपैयाँ पाइने प्रलोभन देखाएपछि खड्का नक्कली चालक बन्न राजी भएको स्रोत बताउँछ।
तर भनेको जस्तो भएन। बरू जिल्ला अदालत सल्यानले २०८२ माघ ७ गते खड्कालाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। उच्च अदालत सुर्खेतले पनि जिल्लाकै फैसला सदर गरिदियो। अब भने खड्का र उनका घरपरिवारका सदस्य आत्तिन्छन्।
तीन वर्ष कैद सजाय तोकिएका खड्का वास्तविक चालक नभई पैसाको प्रलोभनमा नक्कली चालक बनेको तथ्य चुहावट हुन्छ। प्रहरी हेडक्वार्टरमा त्यसबारे निवेदन पनि पर्छ।
सवारी ज्यान मुद्दामा पीडितलाई न्याय नदिई मोटो रकम लिएर नक्कली चालक खडा गरेको भन्ने निवेदनले प्रहरी संगठनभित्र एक प्रकारको खैलाबैला उत्पन्न हुन्छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाका अनुसार हेडक्वार्टरको परिपत्रअनुसार घटना अनुसन्धान गर्न भदौ १६ गते एउटा छानबिन समिति गठन गरिएको छ।
कर्णाली प्रदेशअन्तर्गतको विशेष सुरक्षा गण बाँके, नेपालगन्जका प्रहरी उपरीक्षक रूगमबहादुर कुँवरको नेतृत्वको छानबिन समितिमा प्रहरी निरीक्षक बजिरसिंह विष्ट र रेवन्त सेनलगायत छन्। यो समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ।
पीडित परिवारको जाहेरीअनुसार ‘नक्कली चालक’ प्रकरणमा सल्यानका तत्कालीन प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङ लगायतका प्रहरी अधिकारी छानबिनको दायरामा परेका छन्।
सेतोपाटीसँग छानबिन समितिका संयोजक कुँवरले आरोपी विभिन्न व्यक्ति तथा तत्कालीन प्रहरी अधिकारीहरूको बयान लिने क्रम जारी रहेकाले तत्कालै आफूले थप कुरा भन्न नमिल्ने बताए।
तर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सापकोटाले भने हाल कारागारमा कैद सजाय भोगिरहेका नक्कली चालक खड्का, सक्कली चालक बिक, सवारीधनी बसन्त केसी, लुहाम निवासी यातायात व्यवसायी न्युटन श्रेष्ठ, सल्यानका तत्कालीन प्रहरी प्रमुख तथा हाल दाङ जिल्लामा प्रवक्ताका रूपमा कार्यरत डिएसपी केसीलगायतसँग प्रारम्भिक चरणको बयान लिइसकिएको बताए।
इप्रका लुहामका तत्कालीन प्रमुख गुरुङ हाल काज सरूवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कार्यरत छन्। प्रहरी निरीक्षक गुरुङलाई कर्णालीमा झिकाएर बयान लिने तयारी समितिको छ।
घटनास्थल नजिकको प्रहरी कार्यालय हुनुको नाताले गुरूङले नै त्यो गाडी दुर्घटनाको अनुसन्धान अधिकारीका रूपमा काम गरेका थिए।
डिआइजी सापकोटाका अनुसार बयानका क्रममा हाल कारागारमा रहेका खड्का आठ लाख रुपैयाँ लिने सहमतिमा ‘नक्कली चालक’ बन्न राजी भएको खुलेको छ।
‘नक्कली चालक बनेबापत आठ लाख पाउने र मासिक पाँच हजार तलब पनि बुझ्ने सर्तमा खड्काले अर्कैले घटाएको दुर्घटनाको दोष आफूले गरेको भनेर बेहोर्न राजी भएको तथ्य स्वीकार गरेको भन्ने छ,’ डिआइजी सापकोटाले भने।
खड्कालाई आर्थिक प्रलोभनमा पार्न यातायात व्यवसायी श्रेष्ठलगायतले मुख्य भूमिका खेलेको हालसम्मको अनुसन्धानबाट खुलेको छ।
हाल कारागारमा सजाय भुक्तान गरिरहेका खड्काले सहमतिअनुसार आधा रकम बुझिसकेको बयान गरेका छन्।
प्रहरीले वास्तविक चालक बिकलाई दुर्घटनापछि नियन्त्रणमा नलिएको भने होइन। तर पछि खड्कालाई आर्थिक प्रलोभनमा पारेपछि उनलाई पक्राउ गरिएको थियो। यहाँ चालक खड्कालाई बनाएर सवारी चालक लाइसेन्स नभएका बिकलाई सहचालक बनाउन प्रहरीले नै मिलेमतोमा आफ्नो मुचुल्का र बयानहरू फेरबदल गरेको तथ्य उजागर भएको छ।
सोही कारण वास्तविक चालक अर्थात् पछि मिलेमतोमा मुचुल्का परिवर्तन गरी सहचालक बनाइएका बिक छुट्न सफल भएका थिए।
पैसाको प्रलोभनमा खड्का नक्कली चालक बन्न राजी भए पनि सहमतिअनुसार उनी महिना दिनभित्र नछुट्नु र उल्टै तीन वर्ष कैद सजायको फैसला भएपछि खड्काकी श्रीमती बिना लगायत घरपरिवारका सदस्यले नै अनाहकमा पैसाको प्रलोभनमा पारी आफ्नो श्रीमानलाई फसाएको भन्दै जाहेरी दिएको खुलेको छ। उनकी श्रीमतीले गत मंसिर २२ गते काठमाडौंमा छोरीलाई जन्म दिएकी थिइन्।
श्रीमती गर्भवती छँदै खड्का सहमतिअनुसार अर्कैले घटाएको घटनाको अपजस लिन उनीहरूले सिकाएअनुरूप बयान गरेका थिए।
यो लाखौँको चलखेलमा प्रहरी अधिकारीसमेतको मिलेमतोमा नक्कली मुचुल्का तथा बयान खडा गरी निर्दोषलाई जेल कोच्ने र वास्तविक दोषीलाई उन्मुक्ति दिने कार्य भएको तथ्य हालसम्म विभिन्न व्यक्तिसँग लिएको बयानबाट खुलेको प्रहरी अधिकारी बताउँछन्।
यद्यपि ‘नक्कली चालक’ प्रकरणमा छानबिन समितिले आफ्नो अन्तिम प्रतिवेदन बुझाइसकेको छैन। थप तथ्य भने त्यसले उजागर गर्ने अपेक्षा गरिएको छ।
के भन्छन् डिएसपी केसी?
डिएसपी डा. हेमबहादुर केसी कार्यालय प्रमुखका रूपमा सल्यानमा कार्यरत रहँदा सामाजिक कार्यमा निकै वाहवाही कमाएका हाकिम हुन्। उनले गरिबका झुपडी निर्माण गर्नेदेखि बाटो निर्माणजस्ता सामाजिक कार्यमा प्रहरी युनिट नै खटाउने गरेका थिए। डिएसपी सोही सामाजिक कार्यका कारण स्थानीय कतिपयले उनको ठूलो प्रशंसा गर्दै आएका थिए। तर दुर्भाग्य, आज उनै सामाजिक रूपमा ख्याति कमाएका डिएसपी आलोचनाको सिकार बनेका छन्।
डिएसपी केसीले आफूले मिलेमतोमा एक रुपैयाँ र एक पैसा पनि कसैको नखाएको दाबी गरे।
‘छोराले कुशेऔँसीकै दिन विदेशबाट फोन गर्यो र श्रीमतीले बिहानै फोन गरी कतै चुक्नुभएको भनेर प्रश्न गरिन्,’ डिएसपी केसीले भने, ‘यहाँ मलाई सक्न ठूलो षड्यन्त्र भएको छ। म डराउँदिनँ। वान भर्सेज अल भए पनि म सत्यको पक्षमा लडिरहने छु।’
उनले प्रहरी संगठनकै मानिसहरू पनि आफूलाई फसाउने षड्यन्त्रमा लागेको बताए।
‘यो देश पत्रकारले बिगारेका रहेछन्,’ उनले भने, ‘दुई–दुई वटा अदालतले फैसला गरेको निर्णयविरूद्ध लेख्नु के त्यो पीत पत्रकारिता होइन त?’
साथै उनले बिहीबार नै आफ्नो तर्फबाट सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आफूविरुद्ध भइरहेको षड्यन्त्रको चिरफार गर्ने तथा ‘वान भर्सेज अल’ अर्थात् षड्यन्त्रका विरुद्ध एक्लै भए पनि लडिरहने दाबी गरे।
घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू भने तत्कालीन डिएसपी केसी, प्रहरी निरीक्षक गुरुङ, यातायात व्यवसायी श्रेष्ठ, गाडीधनी साहुलगायतको मिलेमतो तथा आर्थिक चलखेलमा नक्कली चालक खडा गरी वास्तविक दोषीलाई उन्मुक्ति दिइएको तथ्य स्थापित हुने गरी बयानहरू हाल सल्यान कारागारमा थुनामा रहेका चालक खड्कालगायतको बयानबाट खुलेको बताउँछन्।
डिआइजी सापकोटाले अनुसन्धान प्रतिवेदनले दोषी ठहर गरी प्रतिवेदन ल्याएमा तत्कालीन प्रहरी अधिकारीदेखि सबैलाई कानुनबमोजिम कारबाही हुने बताए।