६६ वर्षीया पवी खत्री केही दिनयता बिरामी थिइन्।
रूकुम पश्चिम बाफिकोट गाउँपालिका-५ बस्ने उनलाई ४७ वर्षीय छोरा खगेन्द्र केसीले उपचारका लागि दाङ लैजाने तयारी गरे।
खगेन्द्रकी बहिनी ३६ वर्षीया डीना भनिने बिमा केसी पनि बिरामी परेकी थिइन्।
एकै समयमा दुबै जना बिरामी परेपछि खगेन्द्रले आफ्नी आमा र बहिनीलाई रूकुम पश्चिमकै मिसन अस्पताल लगेका थिए।
त्यहाँबाट भने दुबै जनालाई दाङ रेफर गरिएको खगेन्द्रका आफन्त धनराम केसीले बताए। उनका अनुसार दुबै जनालाई पेटसम्बन्धी समस्या थियो।
दुवैलाई अस्पताल लैजाने भएपछि खगेन्द्रका भतिजा २६ वर्षका शशीधर केसी पनि सँगै जाने भए।
उनीहरूले लु २ ख ६५०२ नम्बरको गाडी रिजर्भ गरे। गाडीमा चालक देवबहादुर विक र गाडी साहुका भतिजा २५ बर्षीय प्रकाश केसी थिए। उनीहरू चढेपछि ६ जना दाङतर्फ प्रस्थान गरे।
बिहान करिब ४ बजेतिर उक्त गाडी सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै दुर्घटनामा पर्यो। गाडी झन्डै साढे ३ सय मिटर तल खसेको छ।
‘दाङको घोराहीमा उपचारका लागि लैजान गाडी बुक गरेर आउँदै रहेछन्। दुर्भाग्यले दुर्घटना भयो,’ धनरामले भने।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम खत्रीका अनुसार पवी, प्रकाश केसी र शशिधर केसीको दुर्घटनास्थलमै मृत्यु भएको छ।
खगेन्द्र र डिना गम्भीर घाइते छन्।
गम्भीर अवस्थामा रहेका दाजु-बहिनीलाई दाङको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ।
प्रहरी निरीक्षक खत्रीका अनुसार चालक निदाएकाले दुर्घटना भएको आशंका छ।
चालक देवबहादुर बिक केही समय अघि मात्रै प्रहरीको सम्पर्कमा पुगेका छन्।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।