भोटेकोशी–त्रिशूली उर्लिएको दिन दीपेन्द्र बानियाँको परिवारमा उनी, उनकी आमा र भाइ थिए।
भाइ बिरामी थिए। आमा सामान किन्न बजार गएकी थिइन्। केहीबेरमै बाढी आएको खबर फैलियो। वरिपरिका घरहरू बग्न थालेका थिए।
आमा छोरालाई बचाउन घरतिर फर्किइन्। तर बाढी त्यसअघि नै गाउँमा पसिसकेको थियो।
उनका भाइलाई भोटेकोशीले बगायो। पछि परिवारले शव भेट्यो। शवको अन्तिम संस्कार गर्न गाउँबाट मलामी जाने मानिससमेत थिएनन्।
'दाहसंस्कार गर्न तीन जना मात्र थियौं,' दीपेन्द्रले भने, 'काजकिरिया गर्दा सबै गाउँले एकजुट हुने चलन थियो। अहिले धेरै गाउँलेहरू नै बाढीले बगाएको छ। शव जलाउन दाउरा पनि अभाव भयो।'
वेत्रावती बजारमा बाढीले छाडेको दृश्यले गाउँको पुरानो परिचय मेटिदिएको छ। अब त्यहाँ घरहरू छैनन्। सडक र मानिस बस्ने ठाउँ पनि छैन।
अन्ततः दीपेन्द्र र उनकी आमा काठमाडौं आएर बसे।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि रसुवा आफ्नो भूगोलसँगै जीवनको पुरानो लयबाट पनि छुट्टिएको छ।
घर छैनन्, बाटो छैनन्, विद्यालय, जलविद्युत आयोजना र भौतिक संरचना छैनन्। गाउँमा बस्ने ठाउँ नभएपछि सयौं विस्थापित काठमाडौं आइपुगेका छन्।
उत्तरगया गाउँपालिका–५ वेत्रावतीका स्थानीय विप्लव खड्काका लागि अहिलेको विपत्ति २०७२ सालको भूकम्पभन्दा धेरै फरक छ।
भूकम्पले घरहरू भत्काएको थियो। तर कम्तीमा मानिसहरूसँग त्रिपाल टाँगेर बस्ने ठाउँ थियो। यस पटक त्यो ठाउँसमेत बाढीले लगेको छ।
'भूकम्पमा पनि सबै ध्वस्त भएको थियो,' खड्काले भने, 'तर त्रिपाल लगाएर बस्ने ठाउँ त थियो। अहिले त्यो पनि रहेन।'
त्यसैले उनीसहित धेरै रसुवाली काठमाडौं आइपुगेका छन्।
गाउँमा केही बाढीपीडितलाई स्कुलहरूमा अस्थायी सेल्टर बनाएर राखिएको छ। तर धेरै परिवार आफन्त, नातागोता र भाडाका कोठामा आश्रय लिन काठमाडौं पुगेका छन्।
-1789445948.jpeg)
७४ वर्षीया शान्ति अधिकारी पनि काठमाडौं आइपुगेकी छन्। उनका अनुसार उनको परिवारको मात्र १० वटा घर बाढीले बगाएको छ।
'सबै नयाँ नयाँ घर थिए,' उनले भनिन्, 'मेरो मात्र पुरानो घर थियो, अब केही बाँकी रहेन।'
अधिकारीका लागि अब राहतले मात्र पुग्दैन। उनी पुनर्निर्माणको योजना तत्काल सुरू हुनुपर्ने बताउँछिन्।
'सरकारले अब पुनर्निर्माण गर्न ध्यान दिनुपर्छ,' उनले भनिन्, 'सरकारले पुनर्निर्माणको योजना बनाउनुपर्छ। ढिलो गर्नु हुँदैन। सुरक्षित ठाउँ खोजेर तीन–चार कोठाको घर, शौचालय र पानीको व्यवस्था गरिदिनुपर्छ।'
उनको माग घरको मात्र होइन, सुरक्षित भविष्यको हो।
'रसुवा धुलै भयो,' उनले भनिन्, 'देवघाटसम्म जे जति क्षति भएको छ, निष्पक्ष भएर सहयोग गर्नुहोला। पीडितलाई सहयोग गर्नु। हाम्रो रसुवामा सबै बगाएको छ। सबै पीडितलाई जे जस्तो सकिन्छ सहयोग गर्नुपर्छ।'
राहतमा राजनीति नहोस् भन्ने उनको अर्को आग्रह छ।
'बालेन सरकार, सुदन सरकार—निष्पक्ष भएर सहयोग गर्नुहोला,' उनले भनिन्, 'यस्तो बेला कसैले राजनीति गर्नु हुँदैन। राजनीति गर्छ भने कारबाही गर।'
बाढीपछि रसुवाबाट काठमाडौं पुगेका परिवारका लागि अहिलेको सबैभन्दा तत्काल आवश्यकता खाना, कपडा र बस्ने ठाउँ हो।
-1789445947.jpeg)
पोखरा महानगरपालिकाले उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि राहत पठाएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार महानगरले प्रधानमन्त्री राहत कोषमा ४५ लाख रूपैयाँ जम्मा गरिसकेको छ। उत्तरगया गाउँपालिकाका १६५ परिवारलाई राहतसमेत प्रदान गरिएको छ।
राहत वितरणमा एउटै परिवारलाई एउटै सामग्री मात्र नपुगोस् भनेर सबै सामानलाई प्याकेजका रूपमा पठाइएको हो।
'कसैले चामल मात्र पाउँछ, कसैले खाद्यान्न मात्र पाउँछ, कसैले लत्ता कपडा मात्र पाउँछ भनेर होइन,' उनले भने, 'सबै प्याकेज गरेर पठाएका हौं।'
तर राहतको प्याकेजले हराएको घर फिर्ता ल्याउँदैन। खेत, सडक, बजार वा रोजगारी फर्काउँदैन। यसले रसुवाको पुनर्निर्माणलाई राहत वितरणभन्दा ठूलो चुनौती बनाएको छ।
पहिलो चरणमा मानिसलाई सुरक्षित राख्नुपर्नेछ। त्यसपछि घर बनाउनुपर्नेछ। सडक र पुल पुनर्निर्माण गर्नुपर्नेछ। विद्युत र जलविद्युत्का संरचना पुनःस्थापना गर्नुपर्नेछ। पर्यटन र व्यापारसँग जोडिएको अर्थतन्त्रलाई फेरि चलायमान बनाउनुपर्नेछ।
त्यो काम एउटा गाउँ वा एउटा परिवारको पुनर्निर्माण होइन। सम्पूर्ण जिल्लाको पुनर्निर्माण हो।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार गाउँमा अहिले बस्न मिल्ने ठाउँ नै छैन।
'त्रिपाल टाँगेर बस्न पनि मिल्दैन,' उनले भने, 'सबै लेदो छ। बाढीले सबै घर बगाएका छन्। कति पुरिएका छन्।'
रसुवाको अर्थतन्त्र पनि यही बाढीसँगै भत्किएको अर्याल बताउँछन्।
जिल्लामा पर्यटन र जलविद्युत आयोजना ठूलो आर्थिक आधार थिए। गोसाइँकुण्ड हुँदै मानसरोवर यात्रामा जाने पर्यटक रसुवा पुग्थे। चीनसँगको सीमानाका पनि यही जिल्लामा भएकाले त्यससँग जोडिएका व्यापार र रोजगारीमा धेरै परिवार निर्भर थिए।
'रसुवालाई पूर्ण रूपमा पुनर्निर्माण गर्न आवश्यक छ,' उनले भने।
यस विषयमा प्रधानमन्त्री बालेन शाहसँग समेत भेटेर कुराकानी गरिएको छ। प्रधानमन्त्रीले पुनर्निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालले बताए।
-1789445947.jpeg)