उदयपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरेपछि श्रीमतीको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादमा धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमती ४५ वर्षीया बिमला राईको मृत्यु भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका गन्दुरामले गएराति १२ बजेतिर श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेका थिए।
श्रीमतीमाथि हतियार प्रहार गरेपछि गन्दुराम आफै साढे १२ बजेतिर अस्थायी प्रहरी पोस्ट माडिबास पुगेर घटनाबारे जानकारी गराएका थिए।
त्यसपछि परिचालन भएको प्रहरीले घाइते बिमलालाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगेकोमा राति १:१५ बजे उनको मृत्यु भएको थियो।
प्रहरीका अनुसार गन्दुरामले बिमलामाथि सिकलले गर्दनमा प्रहार गरेका थिए।
आफै प्रहरी कार्यालय पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टार लगेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।