गोरखास्थित मनासलु हिमालको आधार शिविरमा युवाहरू अनशन बसेका छन्।
आज अनशनको तेस्रो दिन हो।
हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ७ का गरी ११ जना युवाहरू आधार शिविरमै अनशन बसेका हुन्।
आफूहरू ५ हजार ३० मिटर उचाइमा रहेको आधार शिविरमा अनशन बसेको दावा नोर्बु लामाको भनाइ छ।
आधार शिविरमा केही दिनदेखि हिमपात भइरहेको छ। उनीहरू हिमपातबीच पनि अनशन बसिरहेका छन् र स्वास्थ्यमा समस्या देखा पर्न थालेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाले भने अनशनरत युवाहरूलाई अनशन तोड्न र वार्ताका लागि आह्वान गरिरहेका छन्।
