अमेरिका र चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट उत्पन्न जोखिमबारे छलफल गर्न द्विपक्षीय संवाद संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार वासिङ्टनमा हुने उच्चस्तरीय शिखर वार्ताअघि दुई देशबीच यस्तो सहमति भएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार न्यूयोर्कमा भएको वार्तामा एआई संवाद संयन्त्र बनाउने विषयमा सहमति जुटेको बेसेन्टले बताएका छन्।
ट्रम्प र सीबीच गत मेमा बेइजिङमा भएको भेटका क्रममा पनि एआई सम्बन्धी संवाद संयन्त्र बनाउने प्रस्ताव भएको थियो। आइतबारको वार्तापछि त्यसलाई अघि बढाउने सहमति भएको हो।
बेसेन्टका अनुसार तीव्र गतिमा विकास भइरहेको एआईबाट उत्पन्न जोखिम कम गर्न अमेरिका र चीनबीच प्रत्यक्ष संवाद सुरू गर्नु महत्वपूर्ण कदम हो।
‘सबभन्दा महत्वपूर्ण कुरा कुराकानी सुरू गर्नु हो। त्यसैले हामीले एआई संवाद संयन्त्र स्थापना गरेका छौं। सम्भवतः दुई महिनापछि फेरि भेट्नेछौं,’ उनले फाइनान्सियल टाइम्ससँग भनेका छन्।
एआई सुरक्षामा बढ्दो चिन्ता
अमेरिका र चीन विश्वका दुई प्रमुख एआई शक्ति हुन्। पछिल्लो समय दुवै देशबीच एआई प्रविधिमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला यसका सम्भावित सुरक्षा जोखिमबारे पनि चिन्ता बढेको छ।
अमेरिकी अधिकारीहरूले अनियन्त्रित एआई एजेन्ट, साइबर आक्रमणमा एआईको प्रयोग तथा गैरराज्य समूहबाट हुन सक्ने एआई सम्बन्धी जोखिमलाई प्रमुख चिन्ताका रूपमा प्रस्तुत गरेका छन्।
अमेरिकाले एआई र जैविक हतियार बीचको सम्भावित सम्बन्धलाई समेत सुरक्षा चिन्ताका रूपमा हेर्दै आएको छ। अमेरिकी अधिकारीका अनुसार एआई प्रविधिमाथि नियन्त्रणको विषयमा चीन पनि चिन्तित छ।
बेसेन्टले एआई सम्बन्धी गम्भीर राष्ट्रिय सुरक्षा घटनाबारे एकअर्कालाई जानकारी गराउने ‘नोटिफिकेसन मेकानिजम’ प्रस्ताव गरेको बताएका छन्।
उनका अनुसार विश्वका पहिलो र दोस्रो ठूलो एआई शक्तिबीच एआई सम्बन्धी गतिविधिलाई कम पारदर्शी अवस्थाबाट बढी पारदर्शी बनाउनु महत्वपूर्ण छ। संवादले एआईबाट उत्पन्न साझा जोखिम र साझा लक्ष्यबारे दुई देशबीच समझदारी बनाउन सहयोग गर्ने उनको भनाइ छ।
व्यापार युद्धको युद्धविराम लम्ब्याउने विषयमा सहमति भएन
न्यूयोर्कमा भएको वार्तामा एआईसँगै अमेरिका–चीन व्यापार सम्बन्धबारे पनि छलफल भएको थियो। तर गत वर्ष दक्षिण कोरियाको बुसानमा ट्रम्प र सीबीच भएको व्यापार युद्धको अस्थायी युद्धविराम लम्ब्याउने विषयमा भने तत्काल सहमति भएन।
उक्त युद्धविराम नोभेम्बर १० सम्म कायम रहने भएकाले आइतबार नै त्यसलाई विस्तार गर्न आवश्यक नभएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकाले चीनले बुसानमा गरेको दुर्लभ खनिज (रेअर अर्थ) आपूर्ति सम्बन्धी प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको आरोप लगाउँदै आएको छ। अमेरिकी अधिकारीका अनुसार चीनले ती प्रतिबद्धताको करिब दुई तिहाइ मात्र कार्यान्वयन गरेको छ।
अमेरिकाले व्यापार युद्धविराम थप ६ महिनाका लागि लम्ब्याउन प्रस्ताव गरेको छ भने चीनले ट्रम्पको वर्तमान कार्यकालको अन्त्यसम्मै त्यसलाई निरन्तरता दिन चाहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले भने केही अवरोध रहे पनि विगत एक वर्षदेखि कायम रहेको सम्बन्धको स्थिरता दुवै पक्षले कायम राख्न चाहेको स्पष्ट भएको बताएका छन्।
गैरसंवेदनशील वस्तुको व्यापार सहज बनाउने संयन्त्र
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार अमेरिका र चीनले व्यापार बोर्डलाई औपचारिक रूप दिएका छन्।
यसको उद्देश्य राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्ध नभएका वस्तु पहिचान गरी ती वस्तुको दुईतर्फी व्यापारमा तुलनात्मक रूपमा कम भन्सार दर लागू गर्ने सम्भावना खोज्नु हो।
ग्रियरका अनुसार दुवै पक्षले एकअर्कासँग बढी सहज रूपमा व्यापार गर्न सकिने प्रारम्भिक वस्तुहरूको सूची तयार पार्ने काम अघि बढाएका छन्।
उनका अनुसार यस्तो संयन्त्रले दुई देशबीचको सम्बन्धमा स्थायित्व कायम गर्न सहयोग गर्न सक्छ।
इरानबारे पनि छलफल
न्यूयोर्क वार्तामा अमेरिका–इरान युद्धबारे पनि छलफल भएको थियो।
चीनले इरानबाट तेल खरिद गर्दै आएको र चिनियाँ समूहहरूले अमेरिकी सैन्य अखडालाई लक्षित गर्न इरानलाई भू–उपग्रहबाट प्राप्त तस्बिर उपलब्ध गराएको हुन सक्ने अमेरिकी आरोपबारे अमेरिकाले चीनसँग चासो व्यक्त गर्दै आएको छ। चीनले भने इरानलाई अमेरिकी अखडा लक्षित गर्न त्यस्तो सूचना उपलब्ध गराएको आरोप अस्वीकार गरेको छ।
अमेरिकी अधिकारीका अनुसार चीनको वित्तीय प्रणालीसँग यस विषयमा शान्त ढंगले छलफल भइरहेको छ।
सी–ट्रम्प भेटअघि बढ्यो तयारी
न्यूयोर्कमा भएको बेसेन्ट र हेबीचको वार्ता ट्रम्प र सीबीच बिहीबार वासिङ्टनमा हुने भेटको तयारीका रूपमा भएको हो।
दुई देशका नेताबीचको भेटमा व्यापार, एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एआई संवादमा सहमति भए पनि उन्नत एआई चिपमाथि अमेरिकी निर्यात नियन्त्रण जस्ता संवेदनशील विषय भने न्यूयोर्क वार्ताको केन्द्रमा थिएनन्।
यससँगै एआईमा विश्वका दुई प्रमुख शक्तिबीच प्रतिस्पर्धाका साथै जोखिम व्यवस्थापनका विषयमा पहिलो औपचारिक संवादको आधार तयार भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)