ठूलो वर्षा गराउने प्रणालीसक्रिय भएर जोखिम बढेको भन्दै कोशी प्रदेशमा उच्च सतर्कता अपनाइएको छ।
विराटनगरसहित प्रदेशका विभिन्न जिल्लामा लगातारको वर्षाले जनजीवन प्रभावित हुन थालेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकासहित झापाका स्थानीय तहले विद्यालय बन्द गरेका छन्।
प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार संखुवासभाको भोटखोलामा पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडक पूर्ण रूपमा अवरूद्ध भएको छ।
भोटखोला गाउँपालिका–२ स्थित हुङहुङमा पहिरो खसेपछि खाँदबारी–किमाथांका सडकखण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ।
हुङहुङ क्षेत्रमा करिब ७ सय मिटर सडकखण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ। पहिरोका कारण सवारीसाधन पूर्णत अवरूद्ध भएका छन्।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना औंल्याएको छ।
विभागका अनुसार बिहीबार कोशीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने तथा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, सडक तथा बस्तीमा डुबान हुने र पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर स्थानीय तह र प्रशासनले सतर्कता बढाएका छन्।
विराटनगर महानगरपालिकाले आज र भोलि महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
इलाममा पनि प्रशासनले जोखिमयुक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्ग, मेची करिडोरलगायत जोखिमयुक्त सडकमा बिहीबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो। यो व्यवस्था बिहीबार साँझदेखि असोज ११ गते बिहानसम्म लागू हुनेछ।
इलामले यसअघि पनि वर्षाजन्य विपद्को ठूलो क्षति व्यहोरेको छ। गतवर्ष असोज १७ देखि १९ गतेसम्म भएको अत्यधिक वर्षाका कारण जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको थियो। त्यसबेला इलाममा ३९ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता र २६ जना घाइते भएका थिए।