लगातार वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको उल्लेख गरेकी हुन्।
धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबान लगायतका विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोधसमेत गरेको छ।