आजदेखि आगामी १२ गतेसम्म सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल दोभान खण्डमा रातिको समयमा सवारी आवागमन बन्द रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले हाल मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर भारी वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै उक्त सडक खण्डमा रातीको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभागले अबका चार दिन देशभर भारीदेखि अति भारी वर्षा हुने र त्यसबाट बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेकोले सिद्धबाबा खण्ड पहिरोको उच्च जोखिम क्षेत्र रहेकोले आज असोज ८ गतेदेखि १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
अन्य समयमा पनि जिल्लाका विभिन्न सडक खण्डहरू बाढी तथा पहिरोको जोखिममा रहेकोले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्दा पनि विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।