विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लेटफर्म बाइनान्समा ह्याक भएको आशंकापछि करिब ३ अर्ब अमेरिकी डलर बराबरका क्रिप्टो सम्पत्ति रोक्का गरिएको छ।
ह्याक गरी चोरी भएका सम्पत्ति अन्यत्र सारिन नदिन बाइनान्ससहित विभिन्न क्रिप्टो कम्पनीले ती सम्पत्ति रोक्का गरेका हुन्।
बाइनान्सले बिहीबार आफ्नो प्रणालीमा सुरक्षा कमजोरी भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको छ। घटनापछि स्टेबलक्वाइन जारी गर्ने कम्पनी टेथर र सर्कलले पनि यससँग सम्बन्धित सम्पत्ति रोक्का गरेका छन्।
बाइनान्सकी सहसंस्थापक यी हेले ह्याकिङबाट भएको सबै क्षतिको जिम्मेवारी कम्पनीले लिने बताएकी छन्। तर कति रकम चोरी भएको हो र ह्याक कसरी भएको हो भन्नेबारे उनले खुलाएकी छैनन्।
बाइनान्सका अनुसार अनुसन्धान अघि बढ्दै जाँदा रोक्का गरिएको सम्पत्तिको मात्रा अझै बढ्न सक्छ। चोरी भएका सम्पत्ति पत्ता लगाउन कम्पनीले प्रहरी, क्रिप्टो टोकन जारी गर्ने कम्पनी र ब्लकचेन अनुसन्धान गर्ने संस्थाहरूसँग सहकार्य गरिरहेको छ।
अहिलेसम्म टेथरले करिब १ अर्ब ५७ करोड डलर र सर्कलले ८० करोड डलरभन्दा बढीका सम्पत्ति रोक्का गरेका छन्। बाइनान्सकी सहसंस्थापक यी हेका अनुसार रिपलले पनि करिब २० करोड डलर बराबरका सम्पत्ति रोक्का गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्ध रहेको क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलले पनि चोरी भएको भनिएको रकम रोक्का गर्न बिटगो नामक कम्पनीसँग सहकार्य गरेको जनाएको छ। यी हेका अनुसार २ करोड ७० लाख डलर बराबरका स्टेबलक्वाइन र करिब २० लाख डलर मूल्यका वर्ल्ड लिबर्टी टोकन रोक्का गरिएको छ।
बाइनान्सका अर्का सहसंस्थापक चाङपेङ झाओले सामाजिक सञ्जाल एक्समा यो घटना ह्याकिङजस्तो देखिएको बताएका छन्। उनी अहिले कम्पनीको नेतृत्वमा छैनन्।
ब्लकचेन अनुसन्धान गर्ने कम्पनी आर्कह्यामका प्रमुख मिगुएल मोरेलले उपलब्ध तथ्यांकले बाइनान्सबाट अर्बौं डलर बराबरका क्रिप्टो सम्पत्ति चोरी भएको संकेत गर्ने बताएका छन्। उनका अनुसार घटना अमेरिकी समयअनुसार बिहीबार दिउँसो साढे ४ बजेतिर सुरु भएको थियो। तर ह्याक कसरी भयो भन्ने अझै पुष्टि भएको छैन।
घटनापछि बाइनान्सले सुरक्षा जाँच पूरा नभएसम्म प्रयोगकर्तालाई आफ्नो रकम झिक्न नदिने जनाएको छ। कम्पनीले प्रयोगकर्ताको सम्पत्ति सुरक्षित रहेको दाबी गरेको छ। सावधानीका लागि बाइनान्स अल्फा प्लेटफर्ममा हुने कारोबार पनि अस्थायी रूपमा रोकेको छ।
ह्याकको खबर सार्वजनिक भएपछि क्रिप्टोकरेन्सीको मूल्य पनि घटेको छ। बिटक्वाइनको मूल्य करिब २ प्रतिशत घटेर ७७ हजार ६४६ डलरमा झरेको छ। यो पछिल्लो ६ सातायताकै न्यून मूल्य हो।
त्यस्तै, अर्को प्रमुख क्रिप्टोकरेन्सी इथेरियमको मूल्य पनि २ प्रतिशत घटेर २ हजार २३८ डलर पुगेको छ। यो दुई महिनायताकै न्यून हो। बाइनान्समा कारोबार शुल्क तिर्न प्रयोग हुने बीएनबी टोकनको मूल्य भने २४ घण्टामा ८ प्रतिशतभन्दा बढी घटेर ६९४ डलरमा आएको छ।
अमेरिकी क्रिप्टो एक्सचेन्ज क्वाइनबेसको सेयर मूल्य ४.८ प्रतिशत र बिटक्वाइनमा ठूलो लगानी गरेको कम्पनी स्ट्राटेजीको सेयर मूल्य करिब ६ प्रतिशत घटेको छ।
बाइनान्सले प्रयोगकर्ताको सम्पत्ति सुरक्षित राख्न छुट्टै कोष पनि बनाएको छ। 'सिक्योर एसेट फन्ड फर युजर्स' नामको उक्त कोष बिटक्वाइनमा राखिएको छ। सुरक्षा कमजोरीका कारण प्रयोगकर्ताको सम्पत्तिमा क्षति पुगेमा त्यसको भरपाई गर्न यो कोष बनाइएको हो।
क्रिप्टो क्षेत्रमा ह्याकिङका घटना बढ्दै जाँदा प्रयोगकर्ताको सम्पत्ति जोखिममा परेको विज्ञहरूले बताएका छन्। भुक्तानी तथा स्टेबलक्वाइन कम्पनी ट्रेस फाइनान्सका प्रमुख बर्नार्डो ब्रिटेसका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) ले सुरक्षा कमजोरी छिटो पत्ता लगाउन थालेपछि ह्याकिङ रोक्न झन् कठिन भएको छ।
‘एआईले सुरक्षा कमजोरी पत्ता लगाउने गति त्यसलाई सुधार गर्ने गतिभन्दा छिटो बनाइरहेको छ,’ उनले भनेका छन्।
उनका अनुसार यस्ता घटनाले प्रयोगकर्तालाई साना र मध्यम आकारका क्रिप्टो एक्सचेन्जमा आफ्नो पैसा राख्न डर लाग्न सक्छ। ठूलो ह्याकिङबाट भएको क्षति बेहोर्न नसक्ने कम्पनीमा पैसा राख्नु जोखिमपूर्ण हुने उनको भनाइ छ।
क्रिप्टो क्षेत्रमा चोरीका घटना नयाँ होइनन्।
अनुसन्धान संस्था टीआरएम ल्याब्सका अनुसार गत वर्ष करिब १५० वटा आक्रमणबाट २ अर्ब ९० करोड डलर बराबरका क्रिप्टोकरेन्सी चोरी भएका थिए। गत सेप्टेम्बरमा क्रिप्टो एक्सचेन्ज बिटगेटबाट पनि करिब ३५ करोड डलर बराबरका सम्पत्ति चोरी भएका थिए।
बाइनान्सका विश्वभर ३३ करोड ५० लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता छन्। सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार त्यतिबेला प्रयोगकर्ताका करिब १६० अर्ब डलर बराबरका सम्पत्ति कम्पनीको संरक्षणमा थिए।
यसैबीच, अमेरिकामा छुट्टै सञ्चालन हुने बाइनान्स यूएसले आफू यो घटनाबाट प्रभावित नभएको जनाएको छ। क्वाइनबेसले पनि आफ्नो प्रणाली सुरक्षित रहेको र घटनालाई नजिकबाट नियालिरहेको बताएको छ।
बिहीबार नै क्रिप्टो कारोबार हुने अर्को प्लेटफर्म पोलिमार्केटले पनि तेस्रो पक्षको सेवा प्रदायकसँग जोडिएको सुरक्षा समस्याका कारण केही समय कारोबार रोकेको थियो। पछि कारोबार सुरु गर्दै प्रभावित प्रयोगकर्ताको रकम पूर्ण रूपमा फिर्ता गर्ने जनाएको थियो।