कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।
उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारी पाँच करोड ८० लाख ठगी गरेका थिए।
काठमाडौं जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।