निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
बंगालको खाडीमा विकसित अर्नब चक्रवातका कारण कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको प्रशासनले जनाएको छ।
वर्षाका कारण सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम रहेकाले मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी आवागमन रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
प्रशासनले तोकिएको समयमा सवारीसाधन सञ्चालन नगर्न र सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
