शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर प्रहरीले पत्रकारलाई पक्राउ गर्यो।
सादा पोसाकका प्रहरीहरूले केही मिडिया हाउसमा प्रवेश गरी प्रधान सम्पादक र सम्पादकको खोजी गरे।
शुक्रबार प्रहरीले नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो। त्यस्तै, दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरेको थियो।
प्रहरी टोली केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुका साथै पत्रकारहरूको मोबाइलसमेत जाँच गरेको थियो।
यसरी समाचार लेखेकै कारण मिडिया हाउस र पत्रकारमाथि धरपकड गरेपछि प्रहरीको चौतर्फी आलोचना भएको छ। यसले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भनेर पत्रकार महासंघदेखि राजनीतिक दलहरूसहित प्रेस काउन्सिल पनि आपत्ति जनाइसकेको छ।
तर पत्रकारलाई कुन विषयमा अनुसन्धान गर्न खोजिएको थियो, उनीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो र यसमा प्रहरी नेतृत्व वा सरकारको निर्देशन थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित छन्।
यसै विषयमा हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेलाई केही प्रश्न गरेका छौं—
प्रहरीले शुक्रबार कार्यालय समय सकिसकेपछि पत्रकारमाथि किन धरपकड गर्यो? शुक्रबार पक्रिए शनिबार र आइतबारसम्म थुन्न पाइने मनशाय भएन?
यो पाँच बजे पछि भएको घटना होइन। त्यो भन्दा चाँडै नै भएको हो। मान्छेलाई खबर गरियो। को गएको भन्ने बुझौंला। अपराध अनुसन्धानको टोलीसँग पनि बुझ्दैछौं। हाम्रो नियत उहाँहरूलाई थुन्ने, राख्ने होइन। हाम्रो बुझ्नेमात्रै नियत हो। के भएको हो भनेर बुझ्न मात्रै खोजेको हो। हामी प्रेसप्रति सकारात्मक छौं। आजको घटनाले छुट्टाछुट्टै गएजस्तो भएको छ। तर त्यो होइन। हाम्रोतर्फ के भएको पनि हामी बुझ्छौं।
कुनै विषय बुझ्नका लागि सम्पर्क गरी सोध्न वा बोलाउन सकिन्थ्यो, किन समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई पक्राउ गर्यो?
न्युजरूम भित्र छिरेको भन्ने विषयमा जानकारी गराएका छैनन् मलाई।
भिडिओ नै आएका छन् नि?
त्यस विषयमा बुझौंला नि। यसबारे मैले जानकारी पाएँ। हाम्रो टोलीले गएको थियो। उहाँहरूसँग बुझौला।
पत्रकार पक्राउ गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन भएको हो?
होइन, चासो हो।
किनभने निरन्तर रूपमा प्रहरी सरकारको राइट ह्यान्डको रूपमा छ। गाउँगाउँमा सरकारको प्रतिनिधित्व गरिरहेको नेपाल प्रहरी, आन्तरिक सुरक्षाको जिम्मेवारी यसैले हेर्छ। नेपाल प्रहरी र सरकार बीचको सम्बन्धका बारेमा भएका नभएका कुरा आए भने मानिसमा अन्यौल हुने भएकाले ध्यानाकर्षण भएको थियो। त्यस विषयमा हामीले पनि के हो भनेर बुझ्न खोजेका हौं।
समाचारका विषयमा बुझ्न प्रेस काउन्सिल छ नि?
त्यो च्यानल छ, त्यस प्रक्रियामा जाने कुरा पनि छ। तर हामीले इनफर्मल्ली बुझ्न खोजेका हौं। प्रहरी र पत्रकारबीच त्यस्तो दूरी पनि त छैन। तपाईंहरूले पनि सत्यतथ्य बाहिर ल्याउने हो। नेपाल प्रहरीले पनि नागरिकलाई सुरक्षा प्रदान गर्ने हो।