हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
यसको प्रभावले शुक्रबार बिहानदेखि लगातार झरी परिरहेको छ। शुक्रबार रातिदेखि वर्षाको क्रम थप विस्तार भई कोशीदेखि सुदूरपश्चिमसम्म पानी परेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा सबैभन्दा बढी मनाङको तालमा १०४.६ मिलिमिटर वर्षा भएको छ।
लमजुङको भुजुङमा ७३.६ मिलिमिटर, नवलपरासीको देउराली नवलपुरमा ७१.४ मिलिमिटर, तनहुँको अतरौलीटारमा ६० मिलिमिटर, पाल्पाको गण्डकोटमा ५९ मिलिमिटर, चितवनको भरतपुरमा ५९ मिलिमिटर, देवघाटमा ५६ मिलिमिटर वर्षा भएको छ।
अन्य भूभागमा पनि १२ घन्टाको अवधिमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा दिउँसो भारी वर्षा तथा हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
शनिबार अपराह्नदेखि चक्रवातको अवशेषको प्रभाव क्रमिक रूपमा कम हुने महाशाखाले जनाएको छ।