रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि एउटा पक्की पुलको प्रतीक्षामा छन्।
गाउँ नजिकैको नदी पार गर्न पुल नहुँदा पाँच मिनेटमा पुग्न सकिने ठाउँमा जान पनि उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ।
सवारीसाधनमा जाँदासमेत डेढदेखि दुई घण्टा लाग्ने स्थानीय बताउँछन्।
नदीमा पक्की पुल नहुँदा वारिपारिका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न र दैनिक जीवन चलाउनसमेत कठिनाइ भइरहेको छ।
‘वर्षौंदेखि दुःख भोगिरहेका छौँ। गाउँमा सिधा बाटो छैन, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन। नदीपारि जानुपर्दा लामो बाटो घुम्नुपर्छ। हाम्रो समस्या सुन्ने र समाधान गर्ने कोही भएन,’ खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले भने।
गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाको सहज पहुँचसमेत छैन।
स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान र बेचन हरिजनका अनुसार वर्षौंदेखि समस्या भोग्दै आए पनि समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो दिएको छैन।
उनीहरूका अनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था। शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ।
स्थानीयका अनुसार विसं २०३२ मा आएको बाढीले गाउँलाई दुई भागमा विभाजन गरेको थियो। त्यसपछि नदीले गाउँलाई वारि र पारि छुट्यायो।
बाढीका कारण बस्ती विस्थापित हुँदा पुरानो स्थानबाट करिब एक किलोमिटर टाढा सार्नुपरेको थियो। त्यसयता पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन।
विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले पाँच जनाको ज्यान गएको थियो भने ठूलो क्षति पुर्याएको थियो।
आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा थप पीडा भोग्नुपरेको स्थानीयको भनाइ छ।
विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफ्नो अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको उनीहरूको गुनासो छ।
तिनाउ–दानव नदीमा एउटा झोलुङ्गे पुल भए पनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन।
त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ।
खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ। बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरू बताउँछन्।
पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी
स्थानीय अगुवा वाजिद अली देवानले भरवलिया गाउँको आवागमन सहज बनाउन सडक र पुल निर्माणका लागि पहल गर्दै आएको बताए।
उनका अनुसार नदीमा पक्की पुल निर्माण हुन सके भरवलियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिब ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ। किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पुर्याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ देवानले भने।
उनका अनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ। सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उनको भनाइ छ।
सम्मरीमाई गाउँपालिका–५ मा करिब ६ हजार ५०० जनसंख्या छ भने गाउँपालिकाभर ४३ हजार जनसंख्या रहेको स्थानीयले बताएका छन्।
देवानले गाउँको वास्तविक अवस्थाबारे वर्तमान सरकार, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा यस क्षेत्रका संघीय सांसद कन्हैया बनिया र तैफिक अहमदलाई भेटेरै जानकारी गराएको बताए। भरवलिया रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ।
चुनावी आश्वासनमै सीमित विकास
स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन्।
उनीहरूका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि भरवलियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन।
मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले भरवलियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन्।
विशेषगरी तिनाउ–दानव नदीमा पक्की पुल निर्माण, सडक स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्थानीयको मुख्य पेसा खेतीकिसानी र मजदुरी हो।
स्थानीयका लागि पक्की पुल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो।
पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजन बताउँछन्।
वर्षौंदेखि विकासको प्रतीक्षामा रहेका भरवलियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन्।
आधारभूत सेवाको समेत सहज पहुँच नभएको गाउँको समस्या समाधानका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।
— न्युज एजेन्सी नेपाल