यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल भएकाले स्थानीय फूलको उत्पादन बढेको छ। बजारमा फूलको आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ।
गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागतअनुसारको मूल्य पाउन सकेका छैनन् भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी पनि घाटामा परेका छन्।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए।
किसानबाट प्रतिमुठा ८० रुपैयाँमा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको उनले बताए। गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ।
गत वर्ष ठूलो एक बन्डल फूल ७०० रुपैयाँका दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो। यस वर्ष भने ५०० रुपैयाँमा पनि मुस्किलले बिक्री भइरहेको उनले बताए।
उनले धनकुटाको थलथले क्षेत्रका किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा बिक्री गर्दै आएका छन्।
पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गरेका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण घाटा बेहोर्नुपरेको बताए।
‘धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ,’ उनले भने, ‘प्रतिमुठा ७० देखि ८० रुपैयाँमा खरिद गरेको फूल अहिले ४० देखि ५० रुपैयाँमा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ।’
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताए।
उनका अनुसार गत वर्ष प्रतिमुठा १०० रुपैयाँमा बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, गत वर्ष प्रतिमाला २०० देखि २५० रुपैयाँसम्म पर्ने फूलमाला यस वर्ष १०० रुपैयाँमै पाउन सकिने अवस्था छ।
तिहारका अवसरमा धरानमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताए।
लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेट र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ।
यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने मारमा परेको उनले बताए। धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाका किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन्।
तिहारका अवसरमा यस बजारबाट हरेक वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको भट्टराईले बताए।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएकाले स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताए। स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि पनि बढेको उनको भनाइ छ।
तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल र विभिन्न खाद्य सामग्रीको बिक्री पनि बढेको छ। यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको खतिवडाले बताए। तर स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन्।