दैलेखमा बिरामी बोकेको गाडी सडकबाट दुई सय मिटर तल खस्दा ६ जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा क.प्र.०२–००१ च १२१५ नम्बरको गाडी सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माले बताए।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटबाट विष सेवन गरेका एक व्यक्तिलाई अक्सिजनसहित सुर्खेततर्फ लैजाँदै गरेको बोलेरो दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक कालीकोटको सन्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा, २१ वर्षीय तपेन्द्र सिंखडा, १८ वर्षीय गंगा सार्की, सन्नी त्रिवेणी–६ की ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने सार्की र बिरामी २७ वर्षीया कैसी सार्की गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये चालक योगेशको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको नेतृत्वमा खटिएको पाँच जनाको टोलीले उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रोल्पामा आइतबार बेलुकी भएको अर्को सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।
रोल्पा नगरपालिका–६ कुटिवाङ–दार्बोट–माडिचौर सडकखण्डमा घर्तीगाउँबाट लिवाङतर्फ जाँदै गरेको बा.प्र.०६००१ ख ०००९ नम्बरको यात्रुवाहक बसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बायाँपट्टि पल्टिएको थियो।
दुर्घटनामा घाइते भएका सबै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।