मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा महिलाको शव फेला परेको छ।
घरबाट करिब एक किलोमिटर टाढा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
करिब ३२ वर्षीया पार्वती लिम्बूको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ। बिहीबार साँझ शव फेला परेको हो।
प्रहरीका अनुसार शव कम्मरमुनिको भागमा कपडा नभएको अवस्थामा भेटिएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले महिलाको शरीरमा बाहिरी चोटपटक नदेखिएको र घटनास्थलमा तत्काल शंकास्पद वस्तु फेला नपरेको बताए।
प्रहरीका अनुसार लिम्बू विवाहित थिइन्। पति–पत्नीबीच पटकपटक विवाद हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्।
प्रहरीले पारिवारिक विवादको विषयलाई पनि अनुसन्धानमा समेटेको छ तर, विवाद र महिलाको मृत्युबीच सम्बन्ध रहेको पुष्टि भइसकेको छैन।
मृत्युको कारण पत्ता लगाउन फरेन्सिक चिकित्सक सहितको टोली घटनास्थल पठाइएको एसपी कटवालले बताए। प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
शव परीक्षण र फरेन्सिक जाँचबाट प्राप्त नतिजा तथा अनुसन्धानका आधारमा मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।