गृहमन्त्री सुधन गुरूङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्।
युएई सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका हुन्।
दुबईमा आयोजना हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास र अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुनेछ।
सम्मेलनमा विभिन्न देशका सुरक्षा अधिकारी तथा प्रतिनिधिहरूले रक्षा तथा संकट प्रतिकार्य, ड्रोन र रोबोटको प्रयोग, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, साइबर अपराध, डिजिटल ठगी, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रणका विषयमा अनुभव आदानप्रदान गर्नेछन्।
त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा र अन्तरिक्ष सुरक्षालगायत १४ विषयगत क्षेत्रमा छलफल हुनेछ।
सम्मेलनका क्रममा गृहमन्त्री गुरूङले युएईसहित विभिन्न देशका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण र विशेषज्ञ तालिमका लागि सम्भावित अन्तर्राष्ट्रिय साझेदार पहिचान गर्ने अवसर पनि सम्मेलनले प्रदान गर्ने अपेक्षा गरिएको छ।