जंगली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टरको प्रयोग बढाउन मेचीनगरका स्थानीयले माग गरेका छन्।
हात्ती नियन्त्रणका प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रबार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन्।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताए।
उनका अनुसार भारतबाट दैनिक करिब १०० वटा हात्तीको बथान आउने गरेको छ। स्थानीयले रातभर गस्ती गरेर हात्तीलाई मेची बगरमै रोक्ने प्रयास गर्दै आएका छन्।
'बाहुनडाँगीका विभिन्न गौंडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको छ,' उप्रेतीले भने।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती गाउँबस्तीतिर सोझिन थालेकाले पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्ने बताए। धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरसमेत प्रयोग गर्दै आएको छ।
स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्र्याउने समयमा हरेक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्न सुझाव दिए।
हात्ती नियन्त्रणका लागि परिचालित स्वयम्सेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर प्रभावकारी देखिएको बताए।
स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताए।
स्थानीयको मागअनुसार नयाँ योजनाका साथ काम अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले सीमा क्षेत्रमा हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोली प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए।