बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालबालिकासहित चार जना छन्।
प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको थियो।
अटोमा चालकसहित ६ जना सवार थिए।
दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले खोजी तथा उद्धार गर्दा तीन जनाको शव फेला पारेको थियो।
थप खोजीका क्रममा चार वर्षीया रियास महराको शव पनि फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा, पाँचदेखि छ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा छन्।
अटोमा सवार १२ देखि १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ।
अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।